
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नरहेको बताएका छन् । तर जनताको अधिकार कटौती हुन्छ कि भन्नेमा आफू सजग रहेको टिप्पणी छ ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले कांग्रेस-एमालेको समीकरणले जनताको अधिकार कटौती गर्ने गरी संविधान संशोधन गर्ने तयारी गरेको आरोप लगाए ।
'मैले यो कुरा प्रधानमन्त्रीको हैसियतमा पछिल्लो विश्वासको मत लिने क्रममा प्रष्टसँग राखेको छु कि हामी संविधान संशोधनको विरोधी होइनौं । जनतालाई बढी अधिकार सम्पन्न बनाउन हामी संविधान संशोधन गर्न तयार छौं,' उनले भने ।
उनले थपे, 'तर अहिलेका दलहरूको पृष्ठभूमि हेर्दा जनताको अधिकार कुण्ठित गर्ने गरेर संविधान संशोधन गर्ने तयारी गरिएको छ, हामीले त्यसको खण्डन गरेका हौं । दुई दल मिलेर मात्र संविधान संशोधन गर्न मिल्दैन ।'
उनले जनताको अधिकार कटौती गर्ने दुस्साहस गरियो भने मान्य नहुने र आफूले त्यो संघर्षको नेतृत्व लिने बताए ।
'विगतमा पनि संसद् विघटन गरेर संविधान अतिक्रमण गर्दा हामीले जोगाएका हौं,' पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, 'निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ भन्ने हामीलाई पनि लागेको छ । तर उनीहरूले गर्न खोजेको चाहिँ जनताको अधिकार कटौती नै हो ।'
उनले आफ्नो पार्टीले अझ बढी समावेशी, अझ बढी समानुपातिक बनाउने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ भन्ने मान्यता राखेको बताए ।
मंगलबारदेखि शुरू हुने माओवादी केन्द्र कोशी प्रदेश कमिटीको बैठकमा सहभागी हुन प्रचण्ड सोमबार साँझ विराटनगर आएका हुन् ।