२४ जेठ २०८३, आइतबार

मुख्यमन्त्री शाहद्वारा पदबहाली, बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता

साउन २१, २०८१
कैलाली
मुख्यमन्त्री शाहद्वारा पदबहाली, बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए । 

उनले भने, “बजेट शून्यताको अन्त्य गर्न सचिवहरुसँग छलफल गरेर राजस्व सङ्कलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौँ ।” आर्थिक वर्ष २०८१/८२का लागि प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरेर पारित गर्नमा भएको ढिलाइ भएपछि प्रदेशमा यही साउन १ गतेबाट बजेट शून्यताको अवस्था छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहतका निकायमा वित्तीय अनुशासन, सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेका छन् ।  कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ । 

यसैगरी प्रदेशका सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन् । यसका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क ‘ब्लड बैंक’ सञ्चालन र व्यवस्थापनका लागि अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्न सामाजिक विकास मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता एवं नवनियुक्त मुख्यमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८को उपधारा(९)बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आजै प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका  छन् । 

मन्त्रिपरिषद्को गठन र कार्यविभाजनअनुसार बहादुरसिंह थापाले आर्थिक मामिला, सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । 

    यस्तै लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारण मन्त्री, हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका५न्। प्रकाश बहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएकाछन् ।

आर्थिक मामिला मन्त्री थापा र समाजिक विकास मन्त्री खड्का, राज्यमन्त्रीहरु प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद छन् । भौतिक पूर्वाधार विकास मन्त्री पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री सार्की एमालेका सांसद हुन् ।

उद्योग पर्यटन, वन तथा वातावरणमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् भने राज्यमन्त्रीमा नियुक्त निर्मला साउद एमालेकी सांसद हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्