२६ जेठ २०८३, मंगलबार
मनसुन पुनः सक्रिय

काठमाडौंसहित देशभर झरी, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

साउन २२, २०८१
काठमाडौं
काठमाडौंसहित देशभर झरी, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । हाल सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातभर झरी परेको छ । गएराति १० बजेदेखि पर्न थालेको पानी बिहानसम्म निरन्तर परिरहेको छ ।

निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ । तर, उपत्यकाका नदीको जलसतह हालसम्म सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । 

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । त्यहाँ पनि बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

आज दिउँसो पनि देशभर पानी पर्ने सम्भावना छ । दिउँसो देशका सबै प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि सबै प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। सबै राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

महाशाखाले हिजै विशेष बुलेटिन जारी गरेर मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । यी क्षेत्रमा धेरै वर्षा हुने र बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो। 

null

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा छन् ।

यसैगरी गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्