
नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकारले लोकतान्त्रिक मूल्य–मान्यता विपरीत प्रश्न गर्ने अधिकारमाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । संघीय संसद्को बैठकमा बोल्दै उनले सरकार सत्ताको उन्मादमा निरंकुश बन्दै गएको दाबी गर्दै नागरिकका आवाज दबाउने प्रयास भइरहेको टिप्पणी गरे।
सांसद राईले भागवतको सातौं स्कन्धमा वर्णित हिरण्यकशिपु र प्रह्लादको प्रसंग उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थासँग तुलना गरे। हिरण्यकशिपुले आफूलाई सर्वशक्तिमान ठानी अरू कसैको पूजा गर्न नदिएको र सत्य बोल्ने आफ्नै छोरा प्रह्लादलाई दण्डित गर्न खोजेको प्रसंग स्मरण गराउँदै उनले प्रश्न गर्ने अधिकारमाथि प्रतिबन्ध लगाइनु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चिन्ताको विषय भएको बताए।
उनले जेनजी आन्दोलनका क्रममा ७७ जनाले ज्यान गुमाएको र त्यसपछि सरकार परिवर्तन भई बालेन शाह नेतृत्वको सरकारलाई १८२ सिटको बहुमत प्राप्त भएको उल्लेख गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूले आफूले रोजेको सरकारबाटै दमन भोग्नुपरेको आरोप लगाए।
'जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न सोध्न बर्जित गरिँदैछ,' उनले भने, 'आज यही देशमा त्यही कथा फेरि दोहोरिँदै छ। सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढेको छ। प्रश्न बर्जित हुन थालेको छ, लोकतन्त्रलाई संस्थागत हुन नदिने एकपछि अर्को कार्य भइरहेका छन्।'
राईले सरकार निरंकुश बन्दै गएको दाबी गर्दै विवेकशील अभियान, जेन्जी मुभमेन्ट, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिक सर्वोच्चताका पक्षमा संघर्ष गरेर आएका सत्ता पक्षकै सांसदहरू अहिले मौन बसेको टिप्पणी गरे।
उनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रसंग पनि उठाउँदै सरकारमाथि गम्भीर प्रश्न गरे।
गणेश नेपालीको मृत्युपछि सरकारमाथि चौतर्फी रूपमा प्रश्न उठेको उल्लेख गर्दै राईले सञ्चारमाध्यम, नागरिक समाज र सर्वसाधारणले घटनाबारे जवाफ माग्दा सरकारले आत्मसमिक्षा गर्नुपर्नेमा उल्टै प्रश्न उठाउनेहरूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाए।