
कोटा प्रणालीविरुद्ध लक्षित विद्यार्थीको आन्दोलन सरकारको विरोधमा केन्द्रित भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाड्नुपर्यो ।
त्यहाँका सेना प्रमुखले अन्तरिम सरकार बन्ने घोषणा त गरेका छन्, तर कसको नेतृत्वमा कस्तो सरकार बनाउने भन्ने यो समाचार टिप्पणी लेख्दासम्म तय भएको छैन ।
आन्दोलनकारीले सेनाको नेतृत्व अस्वीकार गरेको समाचार बाहिरिएका छन् ।
यसैबीच त्यहाँका राष्ट्रपति शाहबुद्धिनले प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टीकी नेतृ बेगम खालिदा जियालाई जेलबाट रिहा गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री हसिनाले अनपेक्षितरूपमा देश छाडेपछि बंगलादेशमा अहिले राजनीतिक शून्यता कायम भएको छ । राष्ट्र थप अनिश्चितताको भुमरीमा फसेको छ ।
अवामी लीगका शुभेच्छुक एवं कार्यकर्ता आन्तरिक चोट र अन्योलमा छन् भने आन्दोलनकारी विद्यार्थी तथा प्रतिपक्षी दलका नेता/कार्यकर्ताहरू खुसी देखिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेकी जियालाई राष्ट्रपतिले रिहा गर्ने निर्देशन दिनुलाई महत्त्वका साथ हेरिएको छ । उनको पार्टी बीएनपीले तत्काल ताजा निर्वाचनको माग गरिरहेको छ ।
बंगलादेशमा यतिबेला सेनाले सिधै शासन लिने अवस्था छैन भने गत जनवरीमा भएको निर्वाचनमा बहुमत ल्याएको हसिनाको पार्टी अवामी लीग उनको अनुपस्थितिमा छिन्नभिन्न भएको छ ।
अवामी लीगकै (हसिनापछि) दोस्रो नेतृत्वले नै सरकारको नेतृत्व गर्ने माग राख्यो भने जुनसुकै बेला पनि पुनः आन्दोलन जाग्न सक्ने अवस्था छ ।
लुटपाट तीव्र
राजनीतिक संकटका बीच बंगलादेशको राजधानी र अन्य प्रमुख शहरहरूमा तीव्र ढंगले लूटपाट चलिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकार-शून्यता एवं अनिश्चितताले कानून र व्यवस्था बिग्रन थालेपछि व्यवसाय तथा बासिन्दा असुरक्षित बनेका हुन् ।
मंगलबार बिहानैदेखि लुटपाट शुरू भएको थियो । भीडले पसल, सुपरमार्केट र साना व्यवसायलाई लक्षित गर्दै लूटपाट गरिरहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
उनीहरूका अनुसार त्यस्तो समूहले पसलमा पसेर इलेक्ट्रोनिक्सदेखि खाद्यान्न र कपडाजस्ता आधारभूत आवश्यकताका सामान लुटिरहेका छन् ।
'धेरै पसलका मालिकहरू आफ्नो पसल लुटिएको र नष्ट गरिएको हेर्न बाध्य भएका छन्,' ढाका ट्रिब्युनले लेखेको छ ।
ढाकाको गुल्शन क्षेत्रका एक पसलेको भनाइ उद्धृत गर्दै ढाका ट्रिब्युन लेख्छ, 'मलाई यो सपनाजस्तो लागिरहेको छ । हामीले उनीहरूलाई रोक्न केही गर्न सक्दैनौं । उनीहरू आएर जे चाहिन्छ, त्यो लिएर गए । पुलिस कतै देखिएन ।'
ढाका स्टक एक्सचेन्जमा गिरावट
बंगलादेशमा आएको राजनीतिक संकटका कारण आर्थिक क्षेत्रमा पनि तीव्र असर परेको छ । लगानीकर्ताहरूमा फैलिएको अन्योलताले ढाका स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ ।
राजनीतिक संकट र आर्थिक नीतिमा देखिएको अन्योलाताले बंगलादेशले घरेलु र अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास गुमाएको छ । हालका वर्षहरूमा विशेष गरी गार्मेन्ट उद्योगले उल्लेखनीय आर्थिक प्रगति गरेका थिए । विगत एक महिनादेखिको आन्दोलन र अहिलेको राजनीतिक शून्यताका कारण ती उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् ।
विश्लेषकहरूले लामो समयसम्मको अस्थिरताले विदेशी लगानीलाई निरुत्साहित गर्न सक्ने चेतावनी दिएका छन् भने निर्यात तथा पूर्वाधार विकासजस्ता मुख्य क्षेत्रमा असर पर्न शुरू गरिसकेको छ ।
देश छाडेर भागेकी प्रधानमन्त्री हसिनाको पार्टी अवामी लीगले पनि विरोध प्रदर्शन शुरू गरेको छ । प्रतिस्पर्धी राजनीतिक समूहहरूबीच झडप हुन थालेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मानव अधिकार संगठनहरूले यतिबेला राजनीतिक झडप र मानवाधिकारको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले यो परिस्थितिलाई नजिकबाट हेरिरहेको छ भने केही देशहरूले शान्ति कायम राख्न र संकटको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेका छन् ।
हसिनाले देश छाडेपछिको क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव जोखिमयुक्त हुन सक्ने आंकलन गरिएको छ । बंगलादेश दक्षिण एशियाको क्षेत्रीय राजनीतिमा एक प्रमुख खेलाडी रहँदै आएको छ ।
१५ वर्षदेखि अविछिन्नरूपमा देशको नेतृत्व गर्दै आइरहेकी प्रधानमन्त्री हसिनाको अनुपस्थितिमा छिमेकी भारत, चीन, म्यानमारसँगको सम्बन्धमा असर पर्न सक्ने विश्लेषकहरूको चिन्ता छ ।
अझ रोहिंग्या शरणार्थी संकटलाई सम्बोधन गर्ने र जलवायु परिवर्तन पहलहरूमा बंगलादेशको भूमिकामा नयाँ चुनौतीहरू आउन सक्नेछ । संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले संकटको शान्तिपूर्ण र लोकतान्त्रिक समाधानको आह्वान गरेका छन् ।
राजनीतिक स्थिरता सुनिश्चित गर्न र बंगलादेशी जनताको इच्छाको सम्मान गर्ने गरी नयाँ सरकार स्थापित गर्न आवश्यक कूटनीतिक पहल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।