
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के निरीक्षण गरेका छन् । उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के निरीक्षण गरेका हुन् ।
कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्नेजस्ता गुनासा आएकाले छड्के निरीक्षण गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले एक आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्षको साउन र भदौमा कर्मचारी कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले अनुगमन सुरु गरेको बताए ।
उनले कर्मचारी कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने बताए ।
“यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नुपर्छ,” मुख्यमन्त्री सिंहले भने, “कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्छ ।” उनले कार्यालय अनुगमनलाई निरन्तरता बताए ।
यसअघि साउन ६ गते पनि मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११ वटा मन्त्रालयमा छड्के निरीक्षण गरेका थिए । त्यतिबेला उनले अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयको निरीक्षण गरेका हुन् ।