
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकारले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने बताएकी छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा.संग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने बताइन् । ‘संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल (टास्क फोर्स) बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ । समितिले तयार पारेको प्रतिवेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरवलोकन गर्दापनि गाउँगाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्नु पर्दछ,’ उनले भनिन् ।
‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गरयौं, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन, सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु,’ पूर्व सांसद संग्रौलाले भनिन्।
त्यस्तै उनले सरकार निरंकुश बन्छ कि भन्ने त्रास बढीरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् । भ्रातृ संगठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर संगठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर संगठनलाई चलायमान बनाउन उनले माग गरिन् ।
दुग्ध विकास संस्थानले अहिले पनि किसानहरुलाई करिब दुई अर्ब रुपैयाँ तिर्न बाँकी रहेको बताइन् । एउटा कार्यतालिका बनाएर निश्चित समय सीमाभित्र किसानहरुको रकम भुक्तानी गर्न र अनावश्यक खर्च तथा चुहावट रोकेर संस्थानको व्यवस्थापन अविलम्व सुधार गर्न पनि उनले माग गरिन्।