२८ असार २०८३, आइतबार
अस्पतालबाट फरार कैदी पुन: पक्राउ

बलात्कार मुद्दामा जेल पुर्‍याउने किशोरीसँग कैदीको निरन्तर सम्पर्क, उनकै कारण फेरि पक्राउ

साउन २५, २०८१
विराटनगर
बलात्कार मुद्दामा जेल पुर्‍याउने किशोरीसँग कैदीको निरन्तर सम्पर्क, उनकै कारण फेरि पक्राउ

कोशी अस्पतालबाट फरार भएका मोरङ कारागारका एक कैदी एक सातापछि पक्राउ परेका छन्। ड्युटीमा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका विराटनगर–८ का २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट उनलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

साउन १७ गते बिहान साढे ५ बजे उनी अस्पतालबाट फरार भएका थिए। उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो। उपचाररत अस्पतालमै ड्युटीमा खटिएका प्रहरीलाई लडाएर फरार भएका थिए।

मोरङको बेलबारी घर भएकी १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको मुद्दामा १२ वर्ष कैद सजाय ठहर भएपछि उनी जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका थिए।

फरार कैदीलाई पक्राउ गर्न उनीविरुद्ध मुद्दा हाल्ने किशोरीलाई नै प्रयोग गरिएको प्रहरीले जनाएको छ। आर्यनको खोजी गर्न इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा तीन सदस्य टोली परिचालन गरिएको थियो। अस्पतालबाट भागेका उनी त्यसै दिन जोगवनी नाका हुँदै भारत पुगेको खबर प्रहरीलाई आएको थियो। उनलाई अस्पतालबाट रिसिभ गरेर बोर्डरसम्म कैदीका भाइले पुर्‍याएको अनुसन्धानबाट खुलेको छ। उनीमाथि पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तर, भारतको कुन ठाउँमा पुगे भन्ने कुरा पत्ता लगाउन प्रहरीलाई पनि हम्मेहम्मे परेको थियो। त्यसपछि अनुसन्धान अधिकृतले आर्यन बलात्कार मुद्दा दर्ता गर्ने पीडितको सम्पर्कमा उनी रहेको सूचना पाए। अनुसन्धानका क्रममा ती किशोरीसँग आर्यनको सम्पर्क कायमै रहेको निष्कर्षमा प्रहरी पुग्यो। आर्यन कारागारमा हुँदा पनि किशोरीसँग टेलिफोन सम्पर्क हुने गरेको प्रमाण प्रहरीले फेला पारेको थियो।

आर्यनको साथीमार्फत् प्रहरीले पाएको त्यो सूचना सत्य थियो। किशोरीसँग सम्पर्कमा रहेको आर्यनबारे बुझ्न प्रहरी पीडित किशोरीको घरमा पुग्यो र आर्यन कारागारबाट भागेको घटनाबारे जानकारी गरायो।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न सहयोग गरिदिन आग्रह गर्‍यो। ‘फोन सम्पर्कमा कैदी र पीडित किशोरीबीच कुराकानी भएपछि भारतको लोकेसन पत्ता लाग्यो। उनी भारतको झारखण्ड राज्यको साहियबगन्जस्थित आफन्तको घरमा बस्ने गरेका रहेछन्। आर्यनले ती युवतीलाई फरार भएको भोलिपल्टै फोन गरेका रहेछन्। फोन सम्पर्कमा युवतीलाई कटियारसम्म आऊ म लिन आउँछुसम्म भनेका रहेछन्,’ उनीहरूबीच भएको कुराकानी उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि किशोरीको सहयोगमा एक हप्ताभित्रै कैदीलाई समाउन सक्यौं।’

अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर तीन महिनादेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए। उनलाई जिल्ला अदालत मोरङले २०८१ वैशाख ७ गते १२ वर्ष कैद हुने फैसला गरेको थियो।

उनी २०७९ फागुन ४ गते बेलबारीबाट पक्राउ परेका थिए। ‘उनीहरू विवाह गरेर भागेका रहेछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रेमिकाको घरपरिवारले उनलाई जबरजस्ती करणी मुद्दा लगाएका रहेछन्। प्रेमिका र मोहमद अहमदबीच अहिले पनि राम्रो सम्बन्ध छ।’

जेलबाट भागेको कैदीको हकमा थप सजाय हुने कारागार ऐन, २०७९ मा उल्लेख छ। फरार भएर पक्राउ परेका कैदीलाई मोरङ प्रहरीले कैदी भागेको कसुरमा म्याद थप गरेर अनुसन्धान शुरू गरेको छ। कारगार ऐन, २०७९ मा कैदी भागेको पुष्टि भए पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि प्रहरीले ड्युटीमा खटिएका दुई जनालाई निलम्बन गरेर अनुसन्धान शुरू गरेको छ। ड्युटीमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार राजीव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन गरी प्रहरीले अनुसन्धान शुरू गरेको हो।

उनीहरूलाई कैदी फरार भएकै दिन १७ साउनदेखि निलम्बन गरी कारागार ऐन २०७९ विपरीतको कसुर मुद्दामा मोरङ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए। कैदी भागे/भगाएको मुद्दामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

कैदी फरार भएको घटनामा छानबिन समिति पनि गठन भएको छ। मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको नेतृत्वमा समिति गठन भएर अहिले छानबिन भइरहेको एसपी कार्कीले बताए।

salt training

कमेन्ट गर्नुहोस्