२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

साउन २५, २०८१
काठमाडौं
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलनसम्बन्धी काम अगाडि बढेको  छ ।

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगायतको काम ठप्प भएको थियो ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।

सरकारले अध्यादेश जारी गरी कर सङ्कलनको वातावरण बनाए पनि बजेट शून्यताको अवस्था भने अझै अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गरेका छन् ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

salt training

कमेन्ट गर्नुहोस्