
भ्रष्टाचार कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका पूर्वप्रशासक चुडामणि शर्माले आत्मसमर्पण गरेका छन् ।
धरौटी तिर्न नसकेपछि उनले शुक्रवार डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।
उनले अदालतले तोकेको ६ अर्ब १५ करोड रुपैयाँ धरौटी रकम तिर्न नसकेका हुन् ।
कम कर निर्धारण गरी राजस्व चुहावट गरेकोसम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन सदस्य सचिव शर्मा दोषी ठहर भएका थिए । उनले आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य सचिव भएर काम गरेका थिए।
विशेष अदालतले ५ असार २०८० मा कर फर्छ्यौट मुद्दामा शर्मासहित तीनजना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।
तीन न्यायाधीशको इजलासले ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीनजना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो ।
सर्वोच्च अदालतमा पुनरावेदन गर्नुअघि कैद र जरिवानाबापतको रकम जम्मा गर्नुपर्छ। उक्त रकम जम्मा गर्न नसकेपछि शर्मा थुनामा गएका हुन्।