
बागलुङको बडिगाड गाउँपालिका–१० की ६० वर्षीया सुमित्रा विक केही दिनदेखि बिरामी थिइन् । मङ्गलबार बिहान उपचारका लागि घरभन्दा केही तल रहेको दर्लिङ गाउँस्थित स्वास्थ्य क्लीनिकको यात्रा तय गरिन् ।
कान्छी सासु देवी विक, देवर ससिराम विक, बुहारी सिर्जना विक र छ महिनाकी नातिनी सीता विकसहित पाँच घरभन्दा केही तल झरेकी थिइन्। एक्कासी ठूलो वर्षा भयो । साथमा भएको छाताले पानी छेक्न नसकेपछि उनीहरु सबै जना बाटो छेउमै रहेको स्थानीय जोगबहादुर बुढाको घरमा ओत लाग्न पुगे । जोगलालको घरमा पुग्दा गाउँका अन्य मान्छे बसिरहेका थिए ।
वर्षा रोकिएपछि गन्तव्यमा लाग्ने तयारीमा रहेका उनीहरु घरमा रहेका अन्य मानिससँग गन्थनमन्थन गर्दै थिए । सुमित्राले एक्कासी जमिन हल्लिएको महसुस गरिन् । त्यसपछि उनले केही थाहा पाइन् । करिब तीन घण्टापछि बिउझिँदा आफ्नो शरीरको विभिन्न अङ्गमा चोट लागेको देखिन् । शरीर चलाउन खोज्दा नचलेको भान उनलाई भयो । आफू होस्मा आउँदा ओत लागेको घर पहिराले पुरिएको र चारैतिर मान्छेको भीड देखिएको उनले बताइन् ।
उपचारका लागिसँगै हिँडेका पाँच जनामध्ये सुमित्रा, उनका देवर ससिराम र बुहारी सिर्जनालाई करिब तीन घण्टापछि प्रहरी र स्थानीयले पहिराबाट जीवितै उद्धार गरे भने कान्छी सासुदेवी र नातिनी सीताले भने ज्यान गुमाए । बिरामी भएर उपचारका लागि अस्पताल हिँडेका उनीहरुबीच बाटोमै मृत्युवरण गरेपछि विक परिवार मात्रै नभएर सिङ्गो गाउँ नै यति बेला स्तब्ध छ । सुमित्रा अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचाररत छिन् । शरीरको धेरै अङ्गमा गहिरो चोट लागेको हुँदा चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ ।
पहिरामा घाइते भएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् ।