
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् ।
आइतबार केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले तोकिएको समयमै महाधिवेशन गर्न माग गरेपछि देउवाले शंका नगर्न आग्रह गरेका हुन् ।
बैठकमा कोइरालाले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्ने सुनिश्चितता केन्द्रीय समितिको चालू बैठकबाट हुनुपर्ने बताएका थिए ।
कोइराला बोल्दाबोल्दै देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन् । ‘निर्धारित मितिमै महाधिवेशन गर्ने कुरा विधानमै उल्लेख छ, शंका गर्नु पर्दै,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो । चार वर्षमा महाधिवेशन गर्ने व्यवस्था रहेपछि सभापतिले ६ महिना कार्यकाल थप्न सक्ने व्यवस्था छ ।
२०८३ असारमा सरकारको नेतृत्व गर्ने गरी नेकपा एमालेसँग सहमति गरिएका कारण देउवाले महाधिवेशन पछि धकेल्ने संस्थापन इतर समूहको आशंका छ ।