
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलित भएका छन् । १ अर्ब रुपैयाँ रकम जम्मा गरेका झन्डै दुई हजार बचतकर्ता बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
बुटवलबाट प्रदेश राजधानी दाङ देउखुरी गएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय घेराउ गर्दै प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । मन्त्रालय र कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । ‘वैशाखदेखि हामी आन्दोलनमै थियौं, हाम्रो बचत फिर्ताको लागि राजनीतिक दल, सांसद र मन्त्रीहरूलाई पनि जानकारी गरायौँ, तर कुनै सुनुवाइ नभएपछि फेरि आन्दोलनमा उत्रिन बाध्य भयौँ’, सङ्घर्ष समितिका संयोजक विजय नेपालले भने,‘अब हामी बचत फिर्ताको सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलन गर्छौँ ।’
संयोजक नेपालका अनुसार सुप्रिम सहकारीमा एउटै व्यक्तिको तीन करोड रुपैयाँसम्म बचत फसेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका एक हजार ८३१ जनाले आफूहरूको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १९ हजार ३५ जना सदस्यको कुल बचत रकम एक अर्ब २ करोड १४ लाख २५३ रुपैयाँ देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिए ।
सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका बचतकर्ताहरू यसअघि वैशाखमा पनि आन्दोलनमा उत्रिएका थिए । सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना फरार छन् । राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ ।
भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख रुपैयाँ सो मिडियाको नामको पेस्की फर्स्योट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम गोर्खा मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सहकारीको रकम ऋणका रूपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछाने एक समय आवद्ध भएको गोर्खा मिडिया नेटवर्क समेत छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा पनि ऋण लगानी भएको उल्लेख छ ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जनालाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । सहकारीका पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
अर्का प्रतिवादी नवीन अछामी १० लाख, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे १८ लाख, नीता थापामगर २ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार र रोशनी गुरुङ २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।