
सञ्चार क्षेत्रको प्रवर्द्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने भएको छ ।
हरेक क्षेत्रमा नकारात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्ष साथ काउन्सिलले फरक धारको पत्रकारिताका लागि विभिन्न काम गरिरहेको जानकारी दिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताए ।
विभिन्न लेखक एवं सञ्चारकर्मीहरूसँग सोमबार काउन्सिलमा भएको अन्तरक्रियामा अध्यक्ष बस्नेतले भने, 'हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीनजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ ।'
अध्यक्ष बस्नेतले समाजमा देखिएका बेथिति र समस्यालाई प्रश्न उठाउनुपर्ने र पत्रकारले त्यसमा समाधानका विकल्पहरू समेत औंल्याउनुपर्ने सुझाव दिए ।
'अब यो भएन, त्यो भएन भन्ने प्रश्न त सामाजिक सञ्जालबाटै आम मानिसले उठाउन सक्छन् । सञ्चारकर्मीले त्योभन्दा माथि उठेर रचनात्मक भई समाधानका विकल्पहरू पस्किनुपर्छ,' उनले भने, 'सबैतिर नकारात्मकता र नैराश्यता पक्कै छैन । आशाको बाटो डोर्याउने काम समेत पत्रकारिताको हो ।'