काठमाडौं, १२ कात्तिक — माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पारेर अमेजनका सीईओ जेफ बेजोस संसारका सबभन्दा धनी व्यक्ति भएका छन् ।
अमेजनका शेयरहरू दुई प्रतिशत बढेपछि उनको सम्पत्ति ९० करोड डलर वृद्धि भयो र उनी सबभन्दा धनी भए ।
अहिले उनीसँग ९०.६ अर्ब डलर छ भने बिल गेट्ससँग ९०.१ अर्ब डलर छ ।
अक्सफ्यामका अनुसार, बेजोस आगामी २५ वर्षभित्र संसारको पहिलो डलर खर्बपति हुन सक्छन् । अर्थात् उनको पूँजी १०० अर्ब डलरभन्दा बढी हुनसक्नेछ ।
अमेरिकाको न्यु जर्सीस्थित प्रिन्स्टन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका बेजोस र उनकी पत्नीले सन् २०११ मा विश्वविद्यालयलाई १५ मिलियन डलर दान दिएका थिए ।
अमेरिकाको राजधानी वाशिङटन डीसीमा उनले भव्य बंगला बनाइरहेका छन् । त्यसका लागि उनले २३ मिलियन डलर रकम खर्च गरिरहेका छन् । उनका छिमेकीहरू बाराक ओबामा र इभान्का ट्रम्प हुनेछन् ।
अमेरिकाको जमीन प्रतिवेदनअनुसार, उनको नाममा धेरै जमीन छ । उनको सबभन्दा ठूलो क्षेत्रमा फैलिएको जमीन टेक्ससस्थित ३० हजार एकडको फार्महाउस हो ।
सन् १९९८ मा बेजोसको सम्पत्ति पहिलोचोटि एक अर्ब डलर पुग्दा अमेरिकाका दोस्रा सबभन्दा धनी व्यक्ति वारेन बफेको सम्पत्ति ३० अर्ब डलर थियो । अहिले करीब २० वर्षपछि उनको सम्पत्ति बफेभन्दा नौ अर्ब डलर बढी छ ।
एजेन्सी