
जनता समाजवादी पार्टी (जसपा) नेपालका अभियन्ताका रुपमा पालिकामा खटाइएका अभियन्ताले विभिन्न दसवटा नियम र आचारसंहिता पालन गर्नु पर्ने जनाइएको छ ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीले ४ महिने आधारभूत सङ्गठन निर्माण अभियानमा खटिएर जाँदा अभियन्ताले पालन गर्नुपर्ने नियम र आचारसंहिता तय गरेको छ । जसअनुसार अभियन्ताले बैठक र कार्यक्रमको सुरुवात तोकिएको समयमै गर्नुपर्ने तथा आसनग्रहण र सम्बोधनमा कम समय खर्चिनु पर्नेछ ।
कार्यक्रमलाई भड्किलो, खर्चिलो र आडम्बरयुक्त बनाउन नपाइने उनले बताए । यसैगरी जात, लिङ्ग, वर्ग, क्षेत्र, पेसा, शिक्षा, भाषा र धर्मको आधारमा कसैलाई अपमान गर्न तथा व्यक्तिगत घोचपेच र आरोप प्रत्यारोप गर्न पाइने छैन ।
त्यसैगरी अभियन्ताले आफ्नो कुरा अपिलको शैलीमा राख्नुपर्ने छ साथै छोटो र मीठो बोल्नुपर्ने उनले बताए । अभियन्ताले परिणामुखी काम गर्ने तथा आफ्नो कामको रिपोर्ट बनाएर पार्टीलाई बुझाउनु पर्ने जसपाले जनाएको छ ।
पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी गर्न नपाइने भन्दै जसपाले अभियन्ता अध्ययनशील, मेहनती र सक्रिय रहनु पर्ने जनाएको छ ।
जसपा नेपालले भदौ ९ गते काठमाण्डौको थापागाउँबाट ४ महिने अभियानको उद्घाटन गर्दैछ ।