०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

थप घट्यो ब्याजदर, नेपाल एयरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि

भदौ १, २०८१
काठमाडौं
थप घट्यो ब्याजदर, नेपाल एयरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पशुपतिनाथ मन्दिर परिसरमा गएराति तनाब उत्पन्न भएको छ । कोटिहोम आयोजक विजयकृष्ण मूर्ति (विजय भण्डारी)लाई पक्राउ गर्न खोजिएको भन्दै पशुपतिमा राति तनाब उत्पन्न भएको हो । 

प्रहरीले पक्राउ गर्न खोजेको भन्दै विजयकृष्णले फेसबुकमा लाइभ गरेका थिए । आफूलाई पक्राउ गर्न गौशाला वृत्तबाट प्रहरी आएको उनले भिडियोमा दाबी गरेका छन् । उनले भड्काउ अभिव्यक्तिसमेत दिएका छन् । 

लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेको लाइभ भिडियोमा देखिन्छ । उनीहरूले प्रहरीलाई तथानाम गालीगलौज गरेका थिए । विजयकृष्णविरूद्ध ठगीको अभियोग छ ।
००००
तीन वर्षको अवधिमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी १४४ प्रतिशतले वृद्धि भएको छ । प्रवक्ता रमेश पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको जानकारी गराएका हुन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेमा अकास्मात बाढी आएपछिको अवस्थाबारे त्यहाँको प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग जानकारी लिएका छन् । 

ओलीले शुक्रबार साँझ आफैँले प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग टेलिफोन कुराकानी गर्दै आवश्यक जानकारी दिएका हुन् । सो क्रममा उनले घटनाको अवस्था, क्षति र उद्धारलगायतका विषयमा केन्द्रीत रहेर सीडीओसँग ब्रिफिङ लिएका थिए ।
००००
जल तथा मौसम विज्ञान विभागले निरन्तरको वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिम पहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ । 

शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोलामा एक्कासि बाढी आएको भन्दै विभागले घटनाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ बटा हिमताल तथा हिमपोखरीहरू रहेको पाइएको  विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 यस्तै उक्त क्षेत्रको नजिक रहेको फोत्र्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिमि वर्षा मापन भएको र  साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि हुँदै गएको पाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।  तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको पुगेको विभागको भनाइ छ ।
००००
भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले छानबिन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनाबारे छानबिन गर्न प्रहरीले अर्को समिति पनि बनाएको छ । 
००००
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शुक्रवार ३५१ सदस्यीय राष्ट्रिय समिति घोषणा गरेका छन् ।
केही महिना अघि महतोले लोसपा नेपाल छाडेर छुट्टै अभियान सञ्चालन गर्ने बताएका थिए । सोहीअनुसार उनले आफ्नो गतिविधिलाई तीव्र बनाउने राष्ट्रिय कमिटी घोषणा गरेको बताइएको छ ।
००००
भाषा परीक्षा पास गरेर कोरिया जाने श्रमिकहरूको हवाई टिकटको विषयमा विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । रोजगारीका लागि कोरिया जाने श्रमिकहरूले काट्ने हवाई टिकटको टेन्डरविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि यस विषयले सरोकारवालाहरूको ध्यान तानेको छ ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई टिकटमा १ अर्ब १५ करोड रुपैयाँ अपचलन भएको दाबी गरे ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो देखाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्च अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आंकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।
००००
परराष्ट्रमन्त्री डा आरजु देउवा भदौ २ गते भारतको राजधानी नयाँ दिल्ली जाने भएकी छिन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

परराष्ट्रमन्त्री देउवाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । परराष्ट्रमन्त्रीको रूपमा आरजुको यो पहिलो विदेश भ्रमण हो ।
००००
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता दीपेश पुनले सहकारी ठगी छानबिन समितिमा बयान दिएका छन् । 
संसदीय छानबिन समितिले शुक्रवार पुनसँग बयान लिएको हो ।
००००
वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर अझै घटाएका छन् । शनिबारदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । 

बैंकहरूले भदौ महिनाका लागि औसतम ०.२१ विन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको मुद्दती निक्षेप ब्याजदर ६.५३ प्रतिशतमा झरेको छ । जुन साउनमा औसत ब्याजदर ६।.७४ प्रतिशत रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्