२४ असार २०८३, बुधबार
वन विज्ञान छोडेर वन–जंगलतिर

फिरन्ते बानीलाई पेशामा परिणत गरेका दिवस

भदौ १, २०८१
पाेखरा
फिरन्ते बानीलाई पेशामा परिणत गरेका दिवस

मानिसको जीवनमा कुनै बिपत्ति वा परिघटनाले सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव हुने गर्छ । कतिपय मानिसले बिपत्तिलाई अवसरमा बदल्ने गर्छन् । पोखराका दिवस गुरुङले पनि बिपत्तिलाई अवसरमा बदले । आफैँलाई चिन्ने मौका पाए । पोखराको हरियोखर्कस्थित वन विज्ञान क्याम्पसमा अध्ययनरत दिवसलाई ०७२ वैशाख १२ गते गएको भूकम्पको घटनाले पिरोल्यो । दिवस र उनका साथी भोलिपल्टै राहत बोकेर गोरखा हिँडे । भूकम्प गएको दिनमै नव विज्ञान क्याम्पसका विद्यार्थीले डेढ लाख रुपैयाँ सहयोग संकलन गरेका थिए । सोही सहयोगबाट प्राप्त रकमसहित खाद्यान बोकेर दिवस र उनका साथी स्वास्थ्य टोलीसहित गोरखा हिँडेका थिए । उनीहरू भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नै पुग्नेगरी हिँडेका थिए । तर त्यहाँ पुग्न असम्भव भएपछि भूकम्पप्रभावित अन्य गाउँतिर उनीहरूका पाइला मोडिए ।  

यसरी पहिलोपटक दिवस फरक भूगोलमा परिचित भएका थिए । उनलाई फरक समाज, रहनसहन, डाँडापाखा र मानिसहरूका व्यवहारले बेग्लै अनुभूति भइरहेको थियो । त्यसो त दिवसका लागि डाँडापाखा नौला होइनन् । कास्की अन्नपूर्ण गाउँपालिकामा जन्मेका दिवस हिमाल देखेर हुर्केका मानिस हुन् । तरपनि एउटा ठाउँ छोडी अर्को ठाउँ पुग्दा उनी त्यहाँको वातावरणले तानिए । त्यसपछि उनको फिरन्ते बानी शुरू भएको हो । यही बानी अहिले उनको पेशा र जीवनशैली दुवै बनेको छ । 

लामाचौर बस्ने दिवसलाई हरियोखर्क पुग्न समय लाग्थ्यो । बस नपाइने । यसले गर्दा कहिलेकाहीँ त क्याम्पसमा पहिलो पिरियड नै छुट्ने अवस्था थियो  । यसपछि उनले १० हजार रुपैयाँको साइकल किने । यसले गर्दा कलेज जान सहज भयो । त्यसपछि फिरन्ते बानी लागेका दिवसको साथी साइकल बन्यो । पछि दिवस साइकलमा घुम्दै पूर्वतिर पुगे । 

पोखरामा हरेक वर्ष ‘टुर दी पोखरा’ शीर्षकमा साइकल यात्रा हुन्छ । दिवस ०७४ मा सोही कार्यक्रममा पुगे । साइकलयात्री तीर्थराज अवस्थी, विश्व साइकलयात्री पुष्कर शाहजस्ता पात्र भेटे । यो भेटले उनलाई उर्जा दियो । 

null

‘उहाँहरूका कुरा सुने । साइकल चढ्दा हेल्मेट र चस्मा लगाएको गेटअप देख्दा मज्जा आयो । साइकल पनि हेर्दै वाह !भन्नुजस्तो । यस्तै कुराले म उहाँहरूसँग प्रभावित भएको हुँ । ओहो ! साइकलमा पनि यति टाढासम्म घुम्न सकिने रहेछ भन्ने बुझेँ,’ उनले अनुभव सुनाए ।   

शुरूमा दिवस साइकलमा पोखरा र आसपास मात्रै घुम्ने गर्थे । उनको पहिलो साइकल यात्रा थियो लमजुङको घलेगाउँको । पोखराबाट साइकल यात्रामा हिँडेका दिवस बन्दिपुर बस्न पुगे । भोलिपल्ट घलेगाउँको यात्रा तय गरे । पहिलोपटक साइकलमा टाढा यात्रा गरेका दिवस एकछिन त आत्तिए । बसमा जाऊँ कि भन्ने लाग्यो उनलाई । 

‘शुरूमा मलाई साइकल यात्रा सोचेभन्दा धेरै अप्ठ्यारो लाग्यो  । धेरै थाकेपछि गाडीमा चढौँजस्तो भइसकेको थियो । तर आफ्नो पहिलो अनुभवलाई धैर्य गरी अघि बढाउने निर्णय लिएँ । अनि जतिबेला पुगेपनि पुग्छु भन्ने सोचेँ,’ यात्राको पहिलो अनुभव सुनाउँदै उनले थपे, ‘अघि बढ्दै गएपछि पहिलो अनुभव बेग्लै आनन्ददायी भयो । घलेगाउँ आउला–आउलाजस्तो हुने, फेरि नआउने । अर्को डाँडा काट्नुपर्ने । अफ्ठायारो ठाउँ आउँदा कतै साइकल घिर्सार्नुपर्ने त कतै धकेल्नुपर्ने । यस्तोमा पनि मैले आनन्द लिएँ ।’

अन्ततः दिवस घलेगाउँ पुगे । त्यहाँ घुमिसकेपछि भुजुङ गए । तीन दिन घुमेर चौथो दिन बेँशीशहर पुगे । त्यहाँबाट बसमा पोखरा झरे । उनको सबैभन्दा लामो साइकल यात्रा ४५ दिनको हो । भिजिट नेपाल २०२० को ‘प्रमोसन’ गर्न उनी स्वःस्फूर्त तराईका जिल्ला पुगेका थिए । दिवस ‘देश घुमौँ देश बुझाैँ’ अभियान लिएर देश दौडाहामा हिँडेका थिए । सो क्रममा उनले रक्तदान, वातावरणका लागि साइकल र अटिजमबारे जनचेतनाजस्ता अभियान चलाएका थिए ।  

तराई र भित्री मधेशका गरी करिब २५ वटा जिल्ला घुमेका दिवसले सो समय दशैँ–तिहार उतै मनाए । साथै छठ मनाउने पनि अवसर पाए । अरु चाडपर्वमा घर फर्किँदै गर्दा दिवस भने साइकल लिएर घुम्न निस्किएका थिए । पोखराबाट उदयपुरसम्म बसमा पुगेका दिवसले त्यहाँबाट ४५ दिने साइकल यात्रा तय गरे । 

‘अर्को मज्जा भनेको दशैँ र तिहार मनाउन पाएँ । टीका लगाउँदा सबैजना आफ्नो मान्छे हो भन्ने हुने लाग्यो । इलामदेखि तेह्रथुमसम्म उकालो लाग्दा दशैँ–तिहार हिमाल, पहाड, तराई सबैको चाड रहेछ भन्ने महसुस भयो,’ उनले भने । चाडपर्वमध्ये दिवसलाई सबैभन्दा बढी छठ मन पर्यो । छठ पर्वले आफूलाई बेग्लै रमाइलो महसुस गराएको उनले सुनाए । 

दिवस सधैँ चाड पर्वको समयमा घुम्न निस्कन्छन् । छोरा चाडबाडको बेला घरमै होस् भन्ने अभिभावकको चाहना हुन्छ । वन विज्ञानमा स्नातक तह पास गरेका छोरा जागिर खाँदैनन्, बरु फिरन्ते बनेका छन्, यसमा परिवारको सधैँ गुनासो हुन्छ । ‘जागिर गरोस् वा विदेश जाओस् भन्ने परिवारको चाहना छ । सबैको परिवारले भन्ने यही हो भन्ने ठानेर आफ्नो लक्ष्यमा हिँडेको छु,’ उनले चित्त बुझाए । आफूलाई परिवारले मात्र होइन पूर्ववडाध्यक्षले भेट्दा पनि सम्झाउँदै गाली गर्ने गरेको उनले सुनाए । ‘पढेलेखेको गुरुङको छोराले किन जागिर नखाएको भन्दै सम्झाउनु हुन्छ,’ उनी भन्छन् । 

तर दिवसले भने बिहान १० देखि साँझ ५ सम्म काम गर्ने ‘मेन्टालिटी’ कहिल्यै राखेनन् । उनका लागि घुम्ने ठाउँ नै अफिस भयो । ‘मेरा लागि कार्यक्षेत्र नै नयाँ–नयाँ ठाउँ भए । कहिले त मलाई भोलि कहाँ जाँदैछु पनि थाहा हुन्न,’ उनले थपे ।

null 

साइकलयात्रीदेखि पथप्रर्दशकसम्म 

दिवसले स्नातक तहमा वन विज्ञानको पढाइ सकाए । यसबेलासम्म उनलाई घुम्ने बानी परिसकेको थियो । यद्यपि उनी विद्यार्थीलाई ट्युसन पढाउँथे । बुवा–आमा गाउँमै खेतीपाती गर्ने । दिवस हुनेखाने परिवारमा जन्मिएका होइनन् । यसर्थ घुम्नका लागि उनले आफैँ खर्च जुटाउनुपर्यो । अनि उनले प्यासनलाई प्रोफेसनमा परिवर्तन गर्ने उपाय लगाए । त्यसपछि दिवसले पर्यटकलाई घुमाउन थाले । आम्दानी पनि हुने डुल्न पनि पाइने भएपछि उनी यस पेशाप्रति लोभिए । सन् २०१८ तिर पथप्रदर्शक (टुरिस्ट गाइड)को लाइसेन्स निकाले । अनि पर्यटकलाई घुमाउन थाले । उनको पर्यटकसँगको पहिलो पदयात्रा अन्नपूर्ण बेस क्याम्पको हो । तर, सो घुमाइ व्यावसायिक भने थिएन । उनले काउच सर्फिङ नामक एपमा भेटेका पोल्यान्डका दम्पतीलाई घुमाए थिए । यो विभिन्न देशमा घुम्न जाने इच्छुक पर्यटकलाई थोरै पैसामा घुम्न सहयोग पुर्याउने प्लेटफर्म हो । यसैमा भेट भएका दम्पतीलाई लिएर ९ दिनको पदयात्रामा निस्किए दिवस । 

सहयोगस्वरुप दम्पती लिएर हिँडेको पदयात्राले दिवसको व्यावसायिक जीवनका लागि भने फलदायी भयो । किनकि ती दम्पती पोल्यान्डका चर्चित ट्राभल भ्लगर रहेछन् । उनीहरूले दिवससँग सानो भिडियो अन्तर्वार्ता गरेर आफ्नो भ्लगमा हालिदिए । जसले उनको पथप्रर्दशक करिअरमा फाइदा पुर्यायाे । 

त्यसपछि पथप्रर्दशकको रुपमा दिवसलाई रोज्दै धेरैले मेल गर्न थाले । उनले त्यसको सदुपयोग गरे । आजसम्म पनि हरेक सिजनमा चारदेखि पाँचवटा टोली पोल्यान्डबाट आउने गर्छन् । जसलाई दिवसले नै गाइड गर्छन् । त्योबाहेक घुम्न आएका पर्यटकले दिवसलाई रुचाएर अरु साथीलाई पनि सिफारिस गर्छन् । आफूले अपनाएको पेशा पहिलाभन्दा राम्रो हुँदै गएको दिवसको भनाइ छ ।

null 

पथप्रदर्शकका रुपमा दिवस नयाँ पुस्ता हुन् । यो पेशामा अवसर र चुनौती दुवै भएको उनी बताउँछन् । पछिल्लो समय विदेशी पर्यटक सोचेजस्तो नभएको अनुभव उनले सुनाए । ‘पदमार्ग नासिँदै गएका छन् । यसले गर्दा इमान्दार विदेशी पर्यटक भित्र्याउन चुनौती बनेको छ,’ उनी भन्छन् । भविष्य सोच्दा दिवसलाई पर्यटन व्यवसाय स्थिर पेशा लाग्दैन, तर पढेलेखेका पथप्रर्दशक नेपालमा कम छन् भन्ने उनले बुझेका छन् । आफूलाई अपडेट गर्दै गए अवसर हुनसक्ने उनको बुझाइ छ । ‘टुरिजममा अब एड्भेन्चर, साइक्लिङ थप हुनसक्छ अब । हामीले पर्यटकलाई लोभ्याउन विभिन्न स्वरुपमा फड्को मार्न आवश्यक छ,’ उनले सुझाए । महिला पथप्रदर्शकको माग नेपालमा धेरै रहेको उनले जानकारी दिए । 

‘मेरो उमेरका अधिकांश आफन्त पर्ने युवा विदेश गएका छन् । यसले गर्दा मलाई पनि दबाब छ । यहाँ कमाइ भएन भने म पनि एक दुई–तीन वर्षका लागि विदेश जान सक्छु । तर आफूलाई अपडेट गर्दै गए यहीँ राम्रा अवसर पनि छन्,’ उनी भन्छन् । 

भविष्यमा पदयात्राभन्दा साइक्लिङबाट बढी आम्दानी हुने उनको भनाइ छ । सँगै बर्ड वाचिङ, वनस्पति र जीवजन्तु हेर्न र बुझ्न आउने पर्यटनको संख्या पनि बढ्ने उनको अनुमान छ । जुन विषयमा ज्ञान भए सोही अनुसारका पर्यटक भित्र्याउन सकिने उनको बुझाइ छ । 

‘स्किल डेभलप गर्नुपर्यो । टुरिस्ट गाइड भनेको खाली बाटो र हिमाल देखाउने मात्र होइन । उसका विविध विषयको ज्ञान हुनुपर्यो । पर्यटकलाई बुझाउने सीप पनि चाहियो,’ उनी भन्छन्, ‘हामीले पर्यटकलाई जे बुझायो । उनीहरूले नेपालबारे सोही धारणा बनाउँछन् । यसर्थ यस विषयमा सिरियस हुनु पर्छ ।

दिवस अध्ययनशील छन् । उनी ‘ट्राभल ब्लग’ लेख्न रुचाउँछन् । विदेशी पर्यटकलाई नै लक्षित गर्ने भएर उनले आफ्नो ब्लग अंग्रेजीमा लेख्छन् । घुम्नुलाई उनी समाज बुझ्ने एउटा माध्यमको रुपमा हेर्छन् । उनीसँग आउने पर्यटक पनि उस्तै रुचाउँछन् । आउने हप्ता दिवस विदेशी पर्यटक लिएर ढोरपाटन जाँदै छन् । अघिल्लो वर्ष मनाङ र गाेरखाको चुम भ्याली घुमेका पर्यटक फेरि नेपाल आएका छन् । उनीहरूलाई नै लिएर दिवस ढोरपाटनमा जान लागेका हुन् । ‘हाम्रो घुमाइ हतारको हुन्न, आरामको हुन्छ,’ समाज, संस्कृति र रहनसहन बुझ्न फिरन्ते जीवनमा रमाइरहेका दिवस भन्छन् । 

भूकम्पका बेला राहत लिएर बारपाक पुग्न नपाएका उनलाई त्यसले पोलिरहेको थियो । साइकल यात्राकै क्रममा बारपाक पुगेर उनको त्यो ऋण चुक्ता गरिसकेका छन् ।  यसले आफूलाई राहत महसुस गराएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्