२३ असार २०८३, मंगलबार

'मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाए, माधव र झलनाथको नेतृत्व गुमनाम'

भदौ २, २०८१
काठमाडौं
'मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाए, माधव र झलनाथको नेतृत्व गुमनाम'

 नेकपा एमालेका उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा मनमोहन अधिकारीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट चिनाएको बताएका छन् । 
नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च (दोलखा) को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको नमूना सरकार तथा २०७२ साल र त्यसयता एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक–फरक समयमा नेतृत्व गरेको सरकारले नेपालमा कम्युनिष्ट चिनाउनाका साथै कम्युनिष्टले राम्रो काम गर्छन् भनेर देखाउन सकेको बताएका हुन् । 

२०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल भएपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक नेपालमा कम्युनिष्ट पार्टीको सरकार बनेको र उक्त सरकारले नौ महिनाको अवधिमा पनि जनमुखी कामहरू गरेको चर्चा गर्दै उपमहासचिव गुरुङले ‘आफ्नो गाउँ आफैं बनाऔं’, सामाजिक सुरक्षा भत्ता, नौ ‘स’को अभियान, तीनखम्बे अर्थ नीति अवलम्बन, सन्तुलित विदेश सम्बन्ध जस्ता कामहरू गरेको स्मरण गरे । तत्कालीन सरकारले गरेका कामहरू नेपालको विकास र समृद्धिका लागि मार्गदर्शकका रूपमा रहेको तथा समय क्रममा कसैले पनि उल्ट्याउन नसक्ने कदम बनेको उनले बताए । 

कम्युनिष्टरू सत्तामा पुग्दा जनजीवीकाको समस्यामा केन्द्रित भएर काम गर्ने गरेको बताउँदै उनले त्यसबाट ठूलो परिवर्तन नभए पनि सामाजिक न्याय हुने तर्क गरे । ‘कम्युनिष्टले राज्य चलाउने ठाउँमा पुग्दा एकैचोटी ठूलो परिवर्तन भन्दा पनि जनजीवीकासँग जोडिएको सानो–सानो काम गर्न रुचाउँछ । ज्येष्ठ नागरिक र एकल महिलाको सम्मान, गरिब र अल्पसङ्ख्यकको संरक्षण र सुरक्षा, सबै हिसाबले पिँधमा परेको दलित समुदायलाई माथि उठाउने कुरा त्यो आफैंमा एउटा सामाजिक न्यायको कुरा थियो । त्यसै कारण ०५४ सालको निर्वाचनमा हामीले अभूतपूर्व सफलता हासिल गरेका थियौँ,’ उनले भने ।

त्यस्तै, उनले २०७२ साल र त्यसयता एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक–फरक समयमा नेतृत्व गरेको सरकारले गरेको कामका कारण एमाले पार्टी राष्ट्रको बलियो शक्ति बनेको चर्चा गरे । ‘पछिल्लो पटक केपी ओली प्रधानमन्त्री बनेपछि एमाले भनेको के हो, कम्युनिष्ट भनेको के हो, स्वाधीनताको मुद्दा, विदेशनीति, राष्ट्रिय राजनीति, आर्थिक समृद्धि, सुशासन, कम्युनिष्टको साशन भयो भने यसरी काम हुन्छ भनेर देखाएको स्थिति छ,’ उनले भने, ‘केपी ओलीले गरेका तिनै कामहरूका कारण एमाले सत्ताबाट हट्नु प¥यो ।’

भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गरी राष्ट्रिय आत्मसम्मान र स्वाभिमान अभिवृद्धि गरेको, उत्तरी नाका खोलेर नेपालको समुद्रसम्म पुग्ने अधिकारलाई सुरक्षित गरेर विदेश सम्बन्धमा सन्तुलन कायम गरेको, विकास र समृद्धिको अभियानलाई अघि बढाएको, गुमेको भू–भागलाई फिर्ता गरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेकोलगायत काम केपी ओली नेतृत्वको सरकारले गरेको उनको भनाइ थियो । 

तर, कम्युनिष्ट पाटी (एमाले) बाटै प्रधानमन्त्री बनेका माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वको सरकारले कुनै सम्झनलायक काम नगरेको टिप्पणी उनले गरे । ‘हामी (कम्युनिष्ट) सरकारमा गएका छौँ । तर, मनमोहन अधिकारी र केपी ओलीले नेतृत्व गरेको सरकारबाहेक पार्टी सङ्गठनसँग जोडिएर काम भएको छैन । त्यसकारण यो बीचमा कम्युनिष्टका कुन नेताले के काम गरे भन्ने तपाइँ–हामीलाई सम्झना पनि छैन । किनकी सम्झनालायक काम भएको छैन । हाम्रा तत्कालीन नेता माधव नेपाल र झलनाथ खनालको सरकार विकास, परिवर्तन, राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि कतै पनि जोडिएको छैन ।’ 

यस्तै, उनले अब एमालेका नेता तथा कार्यकर्ताहरू सबैले मार्कसवाद र सुशासनको विषयमा मसिनोगरी अध्ययन गर्नुपर्ने बताए । वडादेखि केन्द्रसम्मको शासन गर्ने तरिका सिक्ने, जनताको काम कसरी गर्ने र सुशासन कायम कसरी गर्ने भन्ने काममा एमाले केन्द्रित हुनुपर्ने भनाइ उनको थियो । 

अहिले पनि पालिकाहरूको कामलाई प्रभावकारी बनाउन नसकेको भन्दै उनले सम्बन्धित कमिटीहरूले विशेष ध्यान दिनुपर्ने बताए । त्यसमा सबै केन्द्रीय र सबै तहका नेताहरू केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्