
सुदूरपश्चिम प्रदेशमा कार्यरत जलसतह मापक ९गेज रिडर०को पारिश्रमिक बढाउन माग गरिएको छ ।
विश्व मानवीय दिवसका अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको एक कार्यक्रममा सरोकार भएकाहरूले हाल दैनिक रु दुई सय ज्याला दिने गरिएकामा सो रकम बढाउन माग गरेका हुन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अत्यन्त न्यून ज्याला दिने गरिएकाले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकअनुरूप समायोजन हुनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले जलसतह मापकले गरेका माग जायज भएकाले निर्णय प्रक्रियामा लैजानुपर्ने आवश्यकता औँल्याए ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जय साहले मापकको पारिश्रमिक बढाउनका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको बताए । सुदूरपश्चिमका विभिन्न नदीमा गरी हाल ३१ जना जलसतह मापक कार्यरत रहेका उनले जानकारी दिए ।