सुर्खेत, १३ कात्तिक- वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो ।

अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् ।
करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् ।
जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको नौ महिनासम्म पनि नियमित उडान हुन नसक्दा निरास भएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।