२८ जेठ २०८३, बिहीबार

विराटनगरको सुधारगृहबाट भागे दुई बालक

भदौ ४, २०८१
विराटनगर
विराटनगरको सुधारगृहबाट भागे दुई बालक
प्रतीकात्मक तस्वीर ।

विराटनगरको बाल सुधारगृहमा राखिएका दुई बालक भागेका छन् ।  

सुनसरी घर भएका १६ वर्षका दुई बालक मंगलवार दिउँसो सुधारगृहको पर्खाल नाघेर भागेका हुन् ।

जिल्ला अदालत मोरङको आदेशअनुसार दोषी ठहर भएपछि उनीहरू भागेको मोरङ प्रहरीले जनाएको छ ।

भागेकामध्ये एक कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक रहेको बताइएको छ ।

फरार भएका कोशी गाउँपालिकाका बालकलाई कर्तव्य ज्यान र डाका मुद्दामा अदालतले १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने बराहक्षेत्र नगरपालिका–११ घर भएका बालक जबर्जस्ती करणी मुद्दामा गत असार २८ गतेबाट पुर्पक्षका लागि सुधारगृहमा राखिएका थिए ।

सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवैजना दिउँसो ३ बजेतिर भागेका हुन् । ‘बिहान ११ बजेदेखि अतिरिक्त कार्यक्रम चलेको थियो,’ चौहानले भने ‘दिउँसो ३ बजेतिर दुई जना नदेखेपछि खोजी गर्दा फरार भएको थाहा पायौं । सिसी क्यामराबाट हेर्दा उनीहरू विराटनगरको राजबंशी चौकतिर गएको देखेका छौँ ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फरार भएका बालकहरूको खोजी भइरहेको जानकारी दिए । विराटनगरस्थित बाल सुधारगृहको क्षमता ५० जनाको रहेपनि २३८ जनालाई राखिएको छ । 

सुधारगृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १३ जना प्रहरी परिचालन गरिएको हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्