
पहिलो पटक हुन लागेको फ्रेन्चाइज महिला भलिबलमा काजकिस्तानकी खेलाडीले मधेश युनाइटेडबाट खेल्ने भएकी छन्। एभरेस्ट वुमन्स भलिबल लिगमा फ्रेन्चाइज टोली मधेश युनाइटेडले काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियालाई आबद्ध गरेको जनाएको छ ।
३५ वर्षे येभजिनिया स्पाइकर हुन्। काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेकी उनको उचाइ १८० सेन्टिमिटर छ। दसैंअगाडि हुने भनिएको भलिबल लिगका लागि घोषणा गरिएकामा नेपाल आउन लागेकी उनी पहिलो विदेशी खेलाडी हुन्।
कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकामा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताइन्। ‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदै छु। मधेश युनाइटेडबाट खेल्दै छु । हाम्रो टिमलाई समर्थन गर्नुहोला,’ उनले मधेशको विज्ञप्तिमा भनेकी छन् ।
मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमका लागि धेरै फाइदा पुग्ने बताइन्।
मधेश युनाइटेडको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् ।
नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् । यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् । पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् ।