२८ जेठ २०८३, बिहीबार
रास्वपा बैठक

फुर्सदका बेला संगठन सुदृढीकरणमा लाग्दै रास्वपा, रवि आफैं देशभर जाने

भदौ ५, २०८१
काठमाडौं
फुर्सदका बेला संगठन सुदृढीकरणमा लाग्दै रास्वपा, रवि आफैं देशभर जाने

सत्ताबाट बाहिरिएपछिको फुर्सद सदुपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय भेला, प्रशिक्षणसहित संगठनात्मक कार्यक्रम घोषणा गरेको छ । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले राष्ट्रिय र कर्णाली विशेष कार्यक्रमसहित ७ प्रदेशमा संक्षिप्त प्रशिक्षण, नीति मन्थनलगायत कार्यक्रम घोषणा गरेको हो । 

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले संगठन सुदृढीकरण गर्नेसहित पार्टीले एकैपटक धेरै कार्यक्रम घोषणा गरेको जानकारी दिए ।

काठमाडौंमा असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्नेदेखि स्थानीय तहको उपनिर्वाचनमा सहभागिता जनाउनेसम्मको निर्णय रास्वपाले गरेको हो । 

‘केन्द्रीय समितिले विधानको धारा ९५ (३) अनुसार धारा २३ ले परिकल्पना गरेको केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेलामा परिषद्का साथै पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवं प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहभागी हुने गरी प्रतिनिधि तोक्ने निर्णय गरिएको छ,’ बुर्लाकोटीले भने । 

रास्वपाले भदौ १५ गते सभापति रवि लामिछानेको उपस्थितिमा कर्णाली प्रदेश भेला गर्ने निर्णय गरेको छ । त्यस्तै, सातवटै प्रदेशमा संक्षिप्त प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि रास्वपाको छ । यस्तो प्रशिक्षण र विस्तारित छलफलमा सभापति लामिछाने सहभागी हुनेछन् । सभापति नै सहभागी भएपछि अभियान प्रभावकारी हुने रास्वपाको बुझाइ छ । 

‘लामो समय भयो, सभापति उपत्यका बाहिर कार्यक्रम लिएर जानुभएको छैन । प्रदेशबाट पनि साथीहरूले उहाँको माग गर्नुभएको छ,’ बुर्लाकोटीले भने, ‘सरकारमा हुँदा जनताको कुरा सुन्नका लागि हिँड्न पाइँदैन । त्यसैले दशैंतिहार जस्ता चाडबाडअगाडि फुर्सदको समयमा कार्यक्रम गरौं भनेर यसपटक हामीले धेरैवटा कार्यक्रम राखेका हौं ।’ 

संविधान जारी भएको दिन (असोज ३) मा रास्वपाको कानून तथा न्याय विभागले ‘नीति मन्थन’ कार्यक्रम पनि गर्ने भएको छ । स्थानीय तहको उपनिर्वाचन र सुशासन प्राप्तिका लागि केन्द्रित हुनुपर्ने भन्दै रास्वपाले यसमा भाग लिने संकेत पनि गरेको छ । 

‘राजनीतिक दल भएपछि चुनावमा भाग नलिने भन्ने हुँदैन । तर, हामीले स्थानीय तहको उपनिर्वाचनको विषयलाई लिएर ठ्याक्कै निर्णय गरिसकेको अवस्था होइन,’ बुर्लाकोटीले भने, ‘नागरिकको अधिकार र सुशासन स्थापित गर्नेमा केन्द्रित भएर अगाडि बढ्ने भन्नेमा छौं ।’

रिक्त रहेका ठाउँमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न निर्वाचन आयोगले सरकारसँग प्रस्ताव गरेको छ । गत स्थानीय तहको निर्वाचनपछि रास्वपाले प्रतिनिधिसभाको निर्वाचनमा मात्रै भाग लिएको थियो । दल खोलेको केही समयमै रास्वपाले २० सिट जितेर तहल्का मच्चाएको थियो । उपनिर्वाचनमा थप १ सिट जितेपछि प्रतिनिधिसभामा रास्वपाको २१ सिट छ ।

संसदीय मोर्चालाई बलियो बनाउने

रास्वपाले भ्रष्टाचार र स्वार्थ बाझिएका विषयविरुद्ध संसदीय मोर्चालाई बलियो बनाएर अगाडि बढाउने निर्णय पनि गरेको छ ।  

‘रास्वपाले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने विषयदेखि शिक्षामा राजनीतिकरण गरिएको, समावेशी मन्त्रिमण्डल नबनाएको र स्वार्थ बाझिने गरी मन्त्री बनाएको विषयमा संसद्बाट बुलन्द आवाज उठाउने निर्णय गरेको छ,’ बुर्लाकोटीले भने, ‘यस्तै विद्युत् महसुलमा नीतिगत भ्रष्टाचार भएको छ । यो विषय प्राथमिकतासाथ उठाउँछौं । नागरिकलाई आह्वान गर्छौं ।’

मुकुल ढकाललाई अन्तिमपटक स्पष्टीकरण सोध्ने

रास्वपाले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई अन्तिमपटक स्पष्टीकरण सोधेर सफाइको मौका दिने निर्णय पनि गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी सहमहामन्त्री बुर्लाकोटीले दिए । 

पार्टीको आन्तरिक विषय मिडियामा प्रचार गरेको र सभापतिसहितका नेतालाई आरोपित गरेको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको थियो । 

महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्य मात्रै कायम राखेपछि रास्वपाले उनलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरणको जवाफमा उनले उल्टै सभापति लामिछानेका कारण पार्टी बिग्रिएको भन्दै उनी नै प्रश्नको घेरामा रहेको बताएका थिए । 

विधानका धारा ५६(४) अनुसार रास्वपाले साधारण सदस्यबाट पनि किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले दिए । 

पार्टीले कारबाही गरेपछि ढकालले झन् सभापति लामिछानेसहितका नेताप्रति आक्रामकता देखाएका छन् । यसैले रास्वपाले उनलाई साधारण सदस्यबाट पनि हटाउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्