
त्रिभुवन राजपथअन्तर्गत काठमाडौंको नागढुङ्गास्थित नागमन्दिरनजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक झण्डै ६ घण्टा बितिसक्दा पनि खुल्न सकेको छैन । बुधवार पौने ५ बजेसम्म पनि सडक खुलाउन नसकिएको हो ।
पहिरो खस्ने काम भइरहेकाले सडकको अवरोध खुलाउन समस्या भइरहेको नागढुङ्गाका प्रहरी निरीक्षक हेम थपलियाले लोकान्तरलाई जानकारी दिए ।
नेपाल प्रहरी, चन्द्रागिरि नगरपालिका, सडक डिभिजन कार्यालयलगायतका डोजरले सडक खुलाउने काम भइरहेको उनले बताए ।

पानी पर्ने क्रम केही कम भए आधा घण्टा (साँझ ५ः१५)सम्ममा एकतर्फी सडक खुल्ने सम्भावना रहेको उनको भनाइ छ ।
‘पानी पर्ने क्रम जारी छ । यसले गर्दा पहिरो खसिरहेको छ । पहिरो खसिरहँदा सडक खुलाउन समस्या भइरहेको छ । तैपनि हाम्रो प्रयास जारी छ,’ प्रहरी निरीक्षक थपलियाले भने, ‘पानी पर्ने क्रम केही कम भए आधा घण्टासम्ममा एकतर्फी सडक खुल्ने सम्भावना रहेको छ ।’
बुधवार बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुङ्गा–काठमाडौं सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएसँगै नौबीसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबीसेतिर जाने सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।