
आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ट्राफिक प्रहरी प्रमुखसमेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठसहितले वारिसमार्फत बुधवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनीहरूले रिट दायर भएकै मितिबाट ३० वर्षे हटाउन माग गरेका छन् । एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टर गरी २१ जनाले आफूमार्फत् रिट दायर गरेको वारिस राखिएका कुमार बस्नेतले जानकारी दिए । उक्त रिटको पेशी बिहीवारका लागि तोकिएको छ ।
विसं २०५१ सालमा असईमा भर्ना भएर केहीले सोही वर्ष सँगै इन्सपेक्टरमा पनि नाम निकालेका थिए । तर, उनीहरूले असईको नियुक्ति लिएकै मितिबाट ३० वर्षे अवधि शुरू गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
रिटमा अध्यादेशमार्फत यो व्यवस्था ऐनमा समावेश गर्नुपर्ने माग प्रहरीहरूको छ । यसअघि नै प्रहरी किताबखानाले थमाएको अवकाशपत्र कार्यान्वयन नगर्नू, कामकाज गर्न कुनै अवरोध नगर्नू भनी अन्तरिम आदेशसमेत माग गरिएको वारिस राखिएका बस्नेतले जानकारी दिए । उक्त रिट निवेदनलाई अग्राधिकार दिइ पेश गर्न पनि माग गरिएको छ ।