
अविरल वर्षाका कारण आएको बाढीले काठे पुल बगाउँदा कैलालीको गौरीगंगा नगरपालिकाका ६ सय घरधुरी प्रभावित बनेका छन् ।
नगरपालिकाको वडा नम्बर ११– मा रहेको कटनी खोलामाथिको काठे पुल बगेपछि आवत–जावत ठप्प भएको हो ।
कान्तिपुर, शिवपुर र चम्रैया जोड्ने काठे पुल बगेपछि सयौं बालबालिकाको पढाइ समेत प्रभावित भएको छ । बस्तीमा पनि बाढी पस्दा ५१ घर डुबानमा परेको गौरीगंगा नगरपालिका वडा नम्बर –११ का अध्यक्ष साहेबलाल चौधरीले बताए ।
उनका अनुसार बुधवार बिहानको बाढीले पुल बगाएको हो ।
गौरीगंगा– ११ मा ५३ घर डुबानमा परेका छन् । कान्तिपुर, शिवपुर र चम्रैया गाउँमा डुबानमा परेका घरपरिवारलाई उद्धार गरी विद्यालय भवनमा राखिएको छ ।

‘बाढीले वितण्डा मच्चाएको छ । हामीले उद्धार कार्य गरिरहेका छौं । स्थानीयको खाद्यान्न र लत्ता कपडा भिजेका छन् । मानवीय क्षति भने भएको छैन । खोलामा पानीको सतह घटेको छैन,’ वडाध्यक्ष चौधरीले भने ।
उद्धार र पुल निर्माणका लागि स्थानीय र जनप्रतिनिधि भेला भएका छन् ।

बिहीबार बिहानको छलफलले तत्काल खोलामा आवत–जावतका लागि काठे पुल हाल्ने र पक्की पुलका लागि नगरपालिका र प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको वडाध्यक्ष चौधरीले बताए ।
स्थानीयले कटनी खोलामा १० वर्षदेखि पुलको माग गरिरहे पनि हालसम्म पक्कीपुल निर्माण हुन सकेको छैन । हालसम्म कटनी खोलामा बगेर १६ जना बेपत्ता भइसकेको स्थानीयले बताएका छन् ।