
बहुचर्चित हास्य शृङ्खला ‘सक्किगो नि !’को पछिल्लो एपिसोडमा नेपाली नोटलाई पकाएको दृश्य समावेश छ ।
नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी मानिन्छ । भदौ ६ गते बिहीवार राति प्रकाशित एपिसोडमा अर्जुन घिमिरे (पाँडे)ले पैसाको परिकार पकाएको देखाइएको छ ।
सोही सिरियलका अर्का कलाकार गल्फनेले ‘प्रहरीले पैसा खान्छ’ भनेपछि पाँडेले पैसाको परिकार पकाएका हुन् । सिरियलका प्रहरी इन्स्पेक्टरलाई आफ्नो कटेजमा बोलाएर पाँडेले तरकारी पकाएजसरी पैसा पकाएका थिए ।
कराईमा तेल हालेर प्याज भुटेपछि उनले केही सिक्का राखे । त्यसपछि कोटको खल्तीबाट निकालेर नोट पनि राखे । एकछिन चलाएर ती नोट प्लेटमा राखी प्रहरीलाई टक्राए ।
तर, इन्स्पेक्टरको भूमिकामा देखिएका पुरुषोत्तम आचार्य (जो जुवा खेल्दाखेल्दै काठमाडौंबाट पक्राउ परेका थिए) पाँडेलाई गाली गर्दै त्यहाँबाट निस्किए ।
पछि पाँडेले पैसा नखाए पनि पिउनुहुन्छ होला भन्दै पैसा घोलेको पानी प्रहरी चौकीका पुर्याउँछन् । प्रहरीले एक झापड हानेपछि उनी घर फर्किन्छन् ।
यस्तो हुनसक्छ कारबाही
पाँडेले कराईमा राखेर पकाएको ५ र १० रुपैयाँको नोटमा तेल मसला लतपतिएको छ ।
मुलुकी अपराध (संहिता) २०७४ को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी–नोक्सानी पुर्याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले पनि बेलाबखत सूचना प्रकाशित गरी नोटमा केरमेट नगर्न सर्वसाधारणसँग अपिल गर्दै आएको छ ।