
नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीलाई लोकप्रिय बनाउने गरी सरकारका काम–कारबाही अघि बढाउने बताएका छन् । शुक्रवार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताएका हुन् ।
शहरी विकासमन्त्री सिंहले पार्टीका नेता–कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे । अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ ।
‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरूको शीर उच्च हुने गरी काम गर्नेछु ,’ उनले भने ।
त्यस्तै फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।
कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका हुन् ।