काठमाडौं, १३ कात्तिक– मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रहरुमा चुनावी सरगर्मी बढेको छ ।
पहिलो चरणमा चुनाव हुने निर्वाचन क्षेत्रहरुमा दलहरुले चुनाव केन्द्रीत कार्यक्रम गरिरहेका छन् भने मतदातासँग मत माग्नका लागि घर दैलोमा समेत उनीहरु व्यस्त भएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले वाम गठवन्धन गरेर संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएसँगै प्रतिनिधि र प्रदेशसभाको मतपरिणाममा समेत असर पर्ने निश्चित छ । नेपाली कांग्रेस केही निर्वाचन क्षेत्रमा बाहेक वाम गठवन्धनसँग एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको प्रदेश सात नम्बरका दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरण अन्तर्गत मंसिर १० मा निर्वाचन हुँदैछ ।
केही समय अघि सम्पन्न स्थानीय तहको चुनावमा दलहरुले पाएको मतका आधारमा आगामी निर्वाचनमा दलहरुले पाउन सक्ने मतको आकलन हामीले गरेका छौं ।
दार्चुलामा कांग्रेस पहिलो, प्रतिनिधि र प्रदेशमा के होला ?९ स्थानीय तह रहेको दार्चुलामा पाँच स्थानीय तहमा नेपाली कांग्रेसले जीत निकालेको थियो भने तीन स्थानीय तहमा नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रले एक स्थानीय तहमा जितेको थियो ।
६९ हजार ८ सय ३४ मतदाता रहेको दार्चुला पहिलो स्थानमा रहेको नेपाली कांग्रेले २३ हजार २ सय ३ मत पाएको थियो । दोस्रो स्थानमा रहेको एमालेले २२ हजार ५ सय ६९ मत पाउँदा माओवादी केन्द्रले ३ हजार ९ सय ५६ मत पाएको थियो ।
वाम गठवन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन नेपाली कांग्रेसभन्दा ३ हजार ३ सय २२ मत बढी हुन्छ ।
नेपाली कांग्रेसबाट विक्रम सिंह धामी चुनावी मैदानमा छन् भने वाम गठवन्धनका तर्फबाट एमालेका गणेससिंह ठगुन्ना मैदानमा छन् । ठगुन्न दार्चुलाबाट दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
बझाङमा कसले मार्ला बाजी ?१२ स्थानीय तह रहेको बझाङमा स्थानीय तहको चुनावमा ८ वटा तहमा जीत निकाल्दै नेकपा एमाले पहिलो दल बनेको थियो भने नेपाली कांग्रेसले ४ वटा स्थानीय तहमा जित निकालेको थियो ।
१ लाख ४ हजार २ सय ७५ मतदाता रहेको बझाङमा वाम गठवन्धनका तर्फबाट भैरवबहादु सिंह र नेपाली कांग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंह चुनावी मैदान उत्रिएका छन् ।
स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार मान्ने हो भने वाम गठवन्धनले ४१ हजार मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार मत पाएको थियो । यसलाई आधार मान्ने हो भने बझाँङमा चुनाव जित्न नेपाली कांग्रेसलाई सहज छैन ।
बाजुरामा कसको अवस्था कस्तो ?६९ हजार ८ सय ३४ मतदाता रहेको बाजुरामा प्रतिनिधिसभा निर्वाचनको लागि एक क्षेत्र रहेको छ ।
वाम गठवन्धनका तर्फबाट लालबहादुर थापा उम्मेदवार रहेका छन् भने उनलाई नेपाली कांग्रेसका कविराज पण्डितले चुनौती दिएका छन् ।
९ स्थानीय तह रहेको बाजुरमा नेपाली कांग्रेस ६ स्थानीय तहमा जित निकाल्दै पहिलो दल बनेको थियो भने दोस्रो बनेको नेकपा एमालेले तीन स्थानीय तहमा जितेको थियो ।
नेपाली कांग्रेसले २३ हजार २ सय ३ मत पाउँदा नेकपा एमालेले २२ हजार ५ सय ६९ मत पाएको थियो । माओवादी केन्द्रको अवस्था कमजोर रहेको बाजुरामा उसले ३ हजार ९ सय ५६ मत रहेको छ ।
वाम गठवन्धनको मत जोड्दा २६ हजार ५ सय २५ हुन्छ जुन नेपाली कांग्रेसको भन्दा ३ हजार ३ सय २२ मत बढी हो ।
यस्तो छ बैतडीको गणित१० स्थानीय तह रहेको बैतडीमा ६ स्थानीय तहमा जीत निकाल्दै नेपाली कांग्रेस पहिलो दल बनेको थियो ।
तीन स्थानमा जित निकाल्दै नेकपा एमाले दोस्रो भएको थियो भने माओवादी केन्द्रले एक स्थानीय तहमा जीत निकालेको थियो ।
वाम गठवन्धनका तर्फबाट एमालेले दामोदर भण्डारीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसबाट नरबहादुर चन्द उम्मेदवार बनेका छन् ।
स्थानीय तहमा दलहरुले पाएका मतलाई आधार मान्दा नेपाली कांग्रेसले २७ हजार ६ सय ८० मत पाएको थियो भने नेकपा एमालेले २५ हजार ६ सय ४१ मत पाउँदा माओवादी केन्द्रले १८ हजार १ सय ६६ मत पाएको थियो । यस आधारमा बैतडीमा वाम गठवन्धनको ४३ हजार ८ सय मत रहेको छ जुन नेपाली कांग्रेसको भन्दा १६ हजार बढी हो ।
समग्रमा हेर्दा पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर ७ का सवै निर्वाचन क्षेत्रमा वाम गठवन्धन नेपाली कांग्रेस भन्दा अगाडि देखिएको छ । यद्दपी यो स्थानीय तहको मत परिणाम हो । प्रतिनिधि र प्रदेश सभामा दलहरुले पाउने मतमा फरक पर्न सक्छ ।