१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

अनुशासनमा सीके राउतको कडाइ, नयाँ अभियानमा रास्वपा

भदौ ९, २०८१
काठमाडौं
अनुशासनमा सीके राउतको कडाइ, नयाँ अभियानमा रास्वपा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
तनहुँको मस्र्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकको शव स्वदेश लगिएको छ । मृत्यु भएका २७ जनाको शव भारतीय एयरफोर्सको जहाज र एयर एम्बुलेन्समार्फत शनिवार अपरान्ह महाराष्ट्रस्थित नासिक लगिएको हो । 

२५ जनाको शव जहाज तथा २ जनाको एयर एम्बुलेन्सबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले लोकान्तरलाई जानकारी दिए ।
पोखराबाट काठमाडौं जाने क्रममा शुक्रवार पृथ्वी राजमार्गबाट मस्र्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस खस्दा २७ भारतीय पर्यटकले ज्यान गुमाएका थिए । मृतकहरूको चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
००००
यसैगरी बस दुर्घटनामा बेपत्ता एकजनाको खोजी कार्य जारी छ ।

 बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
यसैबीच भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले यात्रुवाहक बस दुर्घटनाका परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे शनिवार जानकारी लिएकी छिन् ।  
००००
पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता भएको छ ।

विशेषको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘आत्मनिर्भर नेपाल अभियान’ शुरू गरेको छ।

काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्र्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान शुरू गरिएको हो ।
००००
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताएका हुन् । 

‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,’ उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिने अवसरका रूपमा हेरेको छु ।’
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । 
फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट गरे । 

प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने बताउँदै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए ।
००००
मधेस केन्द्रीत दल जनमत पार्टीले पार्टीमा अनुशासन कायम गर्न आचासंहितासहित कडाइ गरेको छ । अध्यक्ष डा सीके राउतले आन्तरिक अनुशासनमा कडाइ गरेका हुन् । पार्टीभित्रका कुनै सदस्यले कुनै किसिमले आफ्नो निहित स्वार्थ राखी या कुनै किसिमले समाजलाई नकारात्मक

असर हुने काम गरेको पाइएमा पार्टीलाई जानकारी गराउन सर्वसाधारणलाई अपिल समेत गरिएको हो ।
००००
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटिएको छ । आइतवार बिहान २ बजेतिर गाडी नदीमै फेला परेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए ।

‘गाडी भेटिएको छ । गोताखोर टोलीले आइतवार बिहान २ बजे भेट्टाएको हो । तर भीर भएकाले सडकमा ल्याउन सकिएको छैन । नदीको साइडमै राखिएको छ,’ उनले भने । 

गाडीसँगै सुनकोशी नदीमा खसेका तीनजना भने अझै बेपत्ता छन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेताहरूले  पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्न र एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउनपार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भएरगरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्