
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औं साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका हुन् ।
'नेपालको उद्यमशीलता र औद्योगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रित गरेको छु,' उनले भने ।
मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए ।
उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले भने, 'विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ, यसको मौलिक स्वरूपको विस्तार गर्नुपर्छ ।'
गौरा पर्व विगतमा थोरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएको उनको भनाइ थियो ।