२७ असार २०८३, शनिबार

विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, पाँच लाख बढी भक्तजन सहभागी हुने अपेक्षा

भदौ ११, २०८१
विराटनगर
विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, पाँच लाख बढी भक्तजन सहभागी हुने अपेक्षा

विराटनगरमा मंगलबार (आज) राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

राधाकृष्णको युगल जोडीसहितको ९३औं संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

भक्तजनहरूलाई पूजाआजा गर्न सहज हुनेगरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा (डोरी) रहने छन् । ती डोरी तान्न भक्तजनहरूको तछाडमछाड हुने गरेको छ ।

रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षाका लागि ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण रथयात्राले गराउने बताइन्छ ।

रथयात्रामा यस पटक ५ लाख बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरेको श्रीराधाकृष्ण रथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । विराटनगरको रथयात्रा भारतको जगनाथपुरीको रथयात्रापछिको दोस्रो ठूलो भएको उनले दाबी गरे । भगवान राधाकृष्ण सवार रथयात्राको दर्शन गरेमा वा रथको डोरी छोएमा मात्रै पनि मनोकांक्षा पूरा हुने विश्वास रहेको छ ।

रथयात्रामा सुरक्षा योजनाका साथ ठूलो संख्यामा प्रहरी परिचालित गरिने मोरङ प्रहरीले जनाएको छ । भीडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिन सादा पोसाकमा पनि ठूलो संख्या प्रहरी परिचालन हुनेछन् ।

भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन र स्वयं आफू पनि सचेत, चनाखो हुन प्रहरीले आग्रह गरेको छ । तीन वटै सुरक्षा निकायले रथयात्रालाई सुरक्षित र भयरहित बनाउन काम गर्ने मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्