
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्यको शक्ति देखाउन संसदमा ठूलो संख्या आवश्यक नभएको बताएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले सरकार गलत बाटोमा लागेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारमा भारी बहुमतको अहंकार देखा परेको र उ गलत बाटोतिर अग्रसर भएको आरोप लगाए ।
‘सत्यले शक्ति देखाउन संख्या हुनु पर्दैन । सरकार यति छिटो यो तहमा एक्सपोज हुनु प्रतिपक्षीका रुपमा राम्रो हो । तर म खुशी छैन । ठूला चिन्ताले रोष्ट्रममा उभिएको छु,’ उनले भने ।
सरकारका क्रियाकलापले जनतामा निराशा देखिएको र आक्रोशको आगो बिस्तारै ज्यामितीय रुपमा बढ्दै गएको उल्लेख गरे ।
‘केही दिनमै सरकार सत्ता समूहका पक्षमा जसरी खुला रुपमा उभियो । त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढ्दैछ,’ उनले भने, ‘त्यसका झिल्का जताततै देखिँदैछन् । त्यो आगो कतै लोकतन्त्रका विरुद्ध प्रयोग होला कि भन्ने हाम्रो चिन्ता छ ।’
एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा १८८ सांसदले भारी मतसहित समर्थन गरेका थिए ।
विपक्षमा ७४ मतमात्र परेको थियो । यसैलाई संकेत गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारलाई बहुमतको बलमा मात्र अघि नबढ्न चेतावनी दिएका हुन् । संसदमा कम संख्या भएपनि आफूहरूले सत्यको पक्षमा उभिएर शक्ति देखाउने बताएका हुन् ।