
विराटनगरमा मंगलवार निकालिएको ९३ औँ संस्करणको राधाकृष्ण रथयात्रामा उछृंखल गतिविधि गरेको र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
रथयात्रामा भीडभाड हुने भएकाले चोरी गर्नकै लागि भनेर वीरगञ्ज र भारतदेखि कतिपय आएको पाइएको प्रहरीको दाबी छ । प्रहरीले वीरगञ्जबाट आएका १८ जनालाई नियन्त्रणमा लिएको छ ।
‘छानबिन गरेर घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ एसपी कार्कीले भने, ‘घटनामा संलग्न नभएकालाई छोडिदिनेछौँ ।’
रथयात्राको सुरक्षा योजनाका साथ प्रहरीले दुई हजारभन्दा बढी प्रहरी परिचालन गरेको जनाएको छ । भीडभाडमा चोरी, लुटपाट, पाकेटमारीजस्ता कार्य हुन नदिनका निम्ति सादा पोसाकमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेको एसपी कार्कीले बताए ।
रथयात्रा अपरान्ह करिब ४ बजे शुरू भएको थियो । जहाँ करिब ५०–६० हजार मानिस सहभागी थिए ।