०५ असार २०८३, शुक्रबार

हराएका दुई स्पेनिस नागरिकमध्ये एकजना मृत भेटिए

भदौ ११, २०८१
कास्की
हराएका दुई स्पेनिस नागरिकमध्ये एकजना मृत भेटिए

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।

खोजीका क्रममा इरिकको शव उनीहरूको झोला भेटिएको स्थान मौजाखोलाभन्दा अन्दाजी एक किमी तल भुरुङ्दी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेलापरेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । महिलाको अवस्था भने झै पत्ता लाग्न नसकेको उनले बताए ।

सशस्त्र प्रहरीको खोताखोरसहितको टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा स्थानीयवासीले विहानदेखि नै खोजी गरेका थिए । गत भदौ ९ गते बिहान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को बिरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेका थिए ।

सोही दिन साँझ बाटोमा दुईवटा झोला बेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशङ्कामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार फेलापरेका झोला बिरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।

 पदयात्रामार्गमा पर्ने भुरुङ्दी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक खोलामा खसेको अनुमानका आधारमा सोमबार झरनाको आसपास र नदी किनारमा खोजी गरे पनि फेला पर्न सकेको थिएन । खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुईवटा स्टिक (लौरी) भेटिएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बेपत्ता महिला खोजीलाई बुधबार पनि निरन्तरता दिइने बताए । पर्यटकको हराएको सूचना सम्बन्धित देशको राजदूतावासमा जानकारी गराइएको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्