
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले विद्युत् प्राधिकरणले उठाउनुपर्ने १६ अर्ब बक्यौता छुट दिएकोमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गर्नुपर्ने बताएको छ ।
प्रचण्डको अभिव्यक्तिले प्राधिकरणको नेतृत्व र व्यापारीबीच साँठगाँठ रहेको प्रस्ट भएको उसको टिप्पणी छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सचिव योगेश भट्टराईले प्रचण्डले महालेखा परीक्षकको प्रतिवेदनविपरीत १६ अर्ब रुपैयाँ छुट दिएर अख्तियार दुरुपयोग गरेको आरोप लगाए ।
‘वैशाख २७ गते ऊर्जा मन्त्रालयलाई एउटै मितिमा दुईवटा पत्र पठाउनुभयो । २१ अर्ब ८८ करोड बक्यौतालाई ६ अर्बमा झार्दिनुभयो । बाँकी १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो,’ भट्टराईले भने, ‘हिजो प्रचण्डले केपी ओलीलाई स्पष्टीकरणलाई सोध्छु भन्नुभयो । कुन कानूनको आधारमा १६ अर्बको निर्णय गर्नुभयो ? प्रतिनिधि सभाले तपाईंलाई स्पष्टीकरण सोध्छ ।’
महालेखाको प्रतिवेदनमाथि प्रश्न उठाउने अधिकार लेखा समिति बाहेक अरूलाई नभएको उनले बताए ।
‘पूर्वप्रधानमन्त्री प्रचण्डले अख्तियार दुरुपयोग गर्नुभयो । अख्तियारले सोध्नुपर्छ, १६ अर्ब छुट दिने निर्णय किन गर्नुभयो ?’ भट्टराईले भने । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले केपी ओलीले विद्युत् महसुल मिनाहा दिन खोजेको भन्दै स्पष्टीकरण मागेका थिए ।
भट्टराईले विद्युत् प्राधिकरणको बक्यौता पूरै उठाउनु पर्ने एमालेको धारणा रहेको बताए ।