०८ साउन २०८३, शुक्रबार

जापानले नेपाललाई ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

भदौ १२, २०८१
काठमाडौं
जापानले नेपाललाई ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

जापान सरकारले नेपाललाई ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अनुदान दिने भएको छ । जापानले मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो  । 

अनुदानका लागि नेपालकातर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापानकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान-प्रदान पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । 

सन् २०१६ देखि उपलब्ध हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसपूर्व १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । नयाँ सम्झौताले थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास अर्थ मन्त्रालयका सचिव डा घिमिरेले व्यक्त गरे । नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुर्याउने उनको भनाइ छ । 

छात्रवृत्ति अनुदानले दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने राजदूत युताकाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्