
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि शुरू भएको ‘१६ औं टाटा ईभी नाडा अटो सो २०२४’ मा पन्च ईभीको बिक्री–वितरण आरम्भ गरेको हो । टाटा पन्च ईभीको शुरूवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
‘बहुप्रतीक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन हो । यो अत्याधुनिक प्रविधियुक्त छ,’ कम्पनीले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालका विभिन्न भूभागमा गरेको परीक्षणका अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिइएको टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले जानकारी दिए ।
‘नेपाली बजारमा टियागो ईभी र नेक्सन ईभीको सफलतापछि पन्च ईभी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र, हामी पन्च ईभीले धेरै भन्दा धेरै नेपाली ग्राहकको पनि मन जित्ने कुरामा पूर्ण विश्वस्त छौं ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पनि टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च ईभी नेपालमा सार्वजनिक गर्न पाउँदा आफूहरू हर्षित र उत्साहित रहेको बताए । ‘ सिप्रदीले लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने, ‘पन्च ईभीले फेरि नेपाली बजारमा सोही स्थान कायम गर्नेमा हामी विश्वस्त छौं । अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयूभी–पन्च ईभीले हाम्रा ग्राहकले वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति पाउनु हुनेछ ।’
टाटा ईभी गाडीका लागि नेपालभरी २६ डिसी फास्ट चार्जिङ्ग स्टेसन, १५० भन्दा बढी एसी फास्ट चार्जिङ र त्यति नै एसी स्लो चार्जिङ नेटवर्क छन् । यसैगरी १६ ईभी डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन् ।