
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसद्मा हुने प्रश्नोत्तर प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय संसद् सचिवालयले आज आयोजना गरेको ‘राष्ट्रियसभामा प्रश्नोत्तरको प्रभावकारी व्यवस्थापनसम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा उनले सांसदका प्रश्नले मन्त्री तथा सरकारको कामलाई थप प्रभावकारी र उत्तरदायी बनाउने भएकाले थप प्रभापकारी बनाउन आवश्यक रहेको बताए । संसद् जनताका प्रतिनिधिको थलो भएकाले जनताका जिज्ञासा, प्रश्न तथा धारणा सांसदबाटै सदनमा प्रतिविम्बित हुने भएकाले यो प्रक्रियालाई महत्वका साथ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।
संसदीय अभ्यासबाटै नागरिकका आवाज, आकाङ्क्षा र विचारको सम्बोधन हुने भएकाले प्रश्न गर्दा जनभावना समेटिने गरी आवाज उठाउनुपर्ने मन्त्री दाहालको धारणा थियो । “मैले हिजो एउटा सांसद र राष्ट्रियसभामा संसदीय दलको नेता हुँदा यस कुरालाई महत्व दिँदै आएको हुँ”, उनले भने, “प्रश्न केवल प्रश्नका लागि मात्रै नभएर समस्या समाधान गर्ने र जनभावना प्रतिविम्बित हुने गरी उठाउनेतर्फ ध्यान दिन आवश्यक छ ।”
राष्ट्रियसभाबाटै मन्त्रीको रूपमा चयन भएको उल्लेख गर्दै उनले आफू कहिल्यै पनि प्रश्नबाट नभाग्ने र सांसदलाई प्रश्न गर्नका लागि प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यतामा रहेको पनि प्रष्ट पारे ।
कार्यक्रम राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसहित राष्ट्रियसभा सदस्यको सहभागिता रहेको थियो ।