तीन वर्षअघि सन् २०२१ मा १८ वर्षभन्दा माथिका नवीनतम् सोचहरूलाई उद्यमी बनाउने लक्ष्यसहित नबिल बैङ्कले ‘नबिल एसएसई’ फेलोसिप कार्यक्रम अगाडि सारेको थियो । अहिले उक्त फेलोसिपबाट तालिम पाएका ५६ जनाहरूमध्ये ४५ जना उद्यमी बनिसकेका छन् । नबिल बैङ्कले शुरू गरेको ‘नबिल स्कुल अफ सोसिएल इन्टरपेनरसीप’ अर्थात् ‘नबिल एसएसई’ फेलोसिपमार्फत् करिब ११ सय जनाले रोजगारी पाएका छन् ।
उक्त फेलोसिपकै अहिले नबिल बैङ्कले चौथो ब्याचका लागि आवेदन खुल्ला गरिसकेको छ । १८ वर्षमाथिका युवाहरूले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधिलगायत कुनै पनि क्षेत्रमा उद्यमी बन्न चाहनेलाई तीन ब्याचसम्म बैङ्कले फेलोसिपमार्फत् निःशुल्क विशेषज्ञ तालिम दिइसकेको छ भने, अहिले चौथो ब्याचका लागि आवेदन माग गरेको छ ।
जसमा लागि १८ वर्ष पुरा भएका जोसुकैले यही भदौ १८ गतेसम्म अनलाइनमार्फत् आवेदनदिन सक्नेछन् ।
बैङ्कले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रमलाई अगाडि बढाइरहेको छ । विगतका तीन ब्याचको सफलतापछि चौथो ब्याचका लागि आवेदन माग गरेको नबिल बैङ्कले समाजलाई प्रभाव पार्ने कार्यक्रमहरू गर्दै आइरहेको छ ।
कसरी पाउने एसएसई फेलोसिप ?
१८ वर्षदेखि माथिका नेपाली नागरिकहरूले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएकाले फेलोसिपका लागि आवेदन दिन सक्नेछन् । जसमा लागि नबिल एसएसईको वेबसाइट अथवा फेसबुक पेजमा रहेको लिङ्कमाबाट आवेदन दिन सक्नेछन् ।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धनको लक्ष्य बोकेको फेलोसिप ६ महिनासम्म चल्ने जनाइएको छ । नेपालको जुनसुकै कुनाबाट १८ वर्ष पूरा भएका जोसकैले माथि उल्लेखित जुनसुकै क्षेत्रमा उद्यमी बन्न आवेदन दिएर निःशुल्क तालिम लिन सक्नेछन् ।
पहिलो चरणमा आवेदन दिएकालाई छनोट गरिनेछ । जसबाट प्रत्येक ब्याचमा २० जनालाई तालिम दिइनेछ । छनोट भएका २० जानले निःशुल्क यो तालिम पाउनेछन् । जसमा हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन कार्यस्थलमा प्रयोगात्मक अभ्यास गराइनेछ ।
समाजमा प्रभाव पार्ने उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम दिइनेछ । विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान दिइनेछ ।
अहिलेको बजार अनुसारको मार्केटिङ, डिजिटल माध्यमहरूको प्रयोग तथा बजार प्रतिस्पर्धा जस्ता विशेषज्ञ तालिमहरूमार्फत सहभागीलाई उद्यमी बन्नका लागि सहज करण गर्ने जनाइएको छ ।
नबिलको फेलोसिप पाएकाहरूले जुनसुकै क्षेत्रमा पनि आफै केही न केही क्षेत्रमा सानै भए पनि उद्यमी बन्न सक्ने विश्वास लिइएको छ ।
तालिमको ६ महिनासहित त्यसपश्चयात एक वर्षसम्म प्रत्येक सहभागीहरूलाई मेन्टरसीप प्रदान गरिनेछ । जसमा तालिम प्राप्त गरेकाहरूले कुन क्षेत्रमा कसरी व्यवसाय सञ्चालन गर्नेदेखि कानुनी प्रक्रियासम्म सबै कुराको सल्लाह सुझाव दिइनेछ । यसका साथै आफ्नै उद्योग शुरू गर्न चाहनेका लागि सहुलियतपूर्ण कर्जालगायत स्टार्टअप कर्जा लिन सल्लाह सुझाव दिइनेछ ।
त्यस्तै, व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ । आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको फेलोसिप कार्यक्रमबाट अहिलेसम्म ५६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरी सकेका छन् । तालिम दिइएकाहरूकाट ४५ जना उद्यमी बनिसकेका छन् भने उद्यमीहरूबाट करिब ११ सय जनाले रोजगारीसमेत पाइसकेको बैङ्कले जनाएको छ ।