
माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिएपछि नेकपा (एमाले)का सचिव योगेश भट्टराईविरुद्ध नेकपा (माओवादी केन्द्र)का सांसदहरू खनिएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी सांसद छिरिङल्हामु लामा तामाङ र छिरिङडम्डुल लामा भोटेले भट्टराईप्रति आक्रोश पोखेका हुन् ।
‘हिजोको संसदमा एमालेका एक सदस्यले संसदको मान नराखी माओवादी जनयुद्धलाइ अपमान गर्ने अभिव्यक्ति दिनुभयो । उहाँको विषयमा सधैं कन्टोभर्सी, बाहिर आइराख्छ । उहाँ मन्त्री हुँदा बतासकाण्ड होस् वा एकजना माननीयले केही समय पहिले सञ्चारमाध्यममा जनयुद्ध कालमा हतियार खरिद–बिक्रीमा र ओसार–पसारमा संलग्न भएको आरोप लगाउनु भएको छ । यसबारे उचित छानबिनका लागि संसदको ध्यानाकर्षण गराउछ,’ सांसद तामाङले भनिन् ।
अर्का सांसद भोटेले जनयुद्धको नाममा चन्दा असुल्नेले मुक्ति आन्दोलनलाई हिंसा भनेकोमा रोष प्रकट गरे । ‘००७ सालको आन्दोलन, २०२८ सालको झापा विद्रोह र २०५२ सालको माओवादी आन्दोलन एकात्मक शासन प्रणालीविरुद्ध लागेका मुक्ति आन्दोलन हुन्,’ सांसद भोटेले भने, ‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने आफैँ हिंसाको गतिविधि गर्ने नायकले जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’
शून्य समयमै माओवादी सांसद उर्मिला माझीले जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाइन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गर्दा एमाले सचिव भट्टराईले माओवादीको १० वर्षे आन्दोलन हिंसा नै भएको पटक–पटक दोहोर्याएका थिए ।