
सत्तारुढ दल नेकपा (एमाले)ले आफ्नो राजनीतिक भविष्यमा अनिश्चयको तुवाँलो लागेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाज भड्काउने अभिव्यक्ति दिएको आरोप लगाएको छ । बिहीवार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राजनीतिक भविष्य नदेखेपछि प्रचण्डले अस्थिरता मच्याउने हिसाबले भड्काउ अभिव्यक्ति दिएको निष्कर्ष निकालेको हो ।
‘प्रचण्डले आफ्नो अयोग्यतालाई विषयान्तर गर्न आरोप लगाइरहनुभएको छ । प्रचण्डले अस्थिरताको श्रृंखला शुरू गरेपछि ठूला दलले नयाँ शुरूवात गरेका हुन्,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘आफ्नो राजनीतिक भविष्यमा अनिश्चयको तुवाँलो मडारिएर हो कि, पार्टीभित्र नेतृत्वका बारेमा चुनौती उत्पन्न भएपछि हो प्रचण्डले समाजलाई भड्काउने कुरा गर्नुभएको छ ।’
एउटा जिम्मेवार नेताले यसरी बोल्न नहुने भन्दै एमालेले प्रचण्डलाई संयम नगुमाउन पनि आग्रह गरेको छ ।
‘च्यालेन्जको भाषा बोलेर प्रचण्डजी यो देशलाई श्रीलंका र बगलादेशजस्तो बनाउन खोज्नुभएको हो ? जिम्मेवार मान्छेले यसरी बोल्न मिल्छ ?,’ ज्ञवालीले भने, ‘यस्तो संयम नगुमाउन हामी आग्रह गर्छौं ।’
समाजमा अराजकता फैलाउन जिम्मेवार दलबाट आएका यस्ता अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको निर्णय पनि एमालेले गरेको छ ।
‘पछिल्लो समयमा समाजमा अराजकता बढाउने प्रवृत्ति बढेको छ । कतिपय देशलाई जोडेर, कतिपय दलले आवेगपूर्ण प्रतिक्रिया दिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ ज्ञवालीले भने, ‘असहज अवस्थामा सहजताका लागि सबैले जिम्मेवारी बहन गर्नुपर्छ । गैरजिम्मेवार अभिव्यक्ति कसैले दिनु हुन्न । बढावा दिनु हुँदैन ।’