
नेकपा (एमाले)ले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकार बनेको डेढ महिनामा सकारात्मक सन्देश दिने गरी काम भएको बताएको छ ।
केन्द्रीय कार्यालयमा बिहीवार बसेको पार्टी सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘एमाले र कांग्रेसको मुख्य साझेदारीमा नयाँ सरकार बनेपछिको डेढ महिनाको संक्षिप्त समीक्षा गरेका छौं । नयाँ सरकार बनेपछि केही सकारात्मक सन्देश देखिएका छन्,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सरकार अझै गतिका साथ अगाडि बढोस् भन्ने हाम्रो पार्टीको चाहना छ ।’
नयाँ सरकारप्रति निजी क्षेत्र, व्यवसायी र नागरिकमा सकारात्मक परेको प्रभाव सेयर बजारको उत्साहलाई लिन सकिने एमालेको भनाइ छ ।
त्यस्तै लामो समयदेखि अल्झिएको संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनु, न्याय र परिपुरणको पर्खाइमा रहेकाका निम्ति सन्तुष्टिको विषय भएको एमालेको भनाइ छ । यसले शान्ति प्रक्रिया टुंगिने महत्वपूर्ण कोशेढुंगातर्फ मुलुकलाई अगाडि बढाएको पनि एमालेले दाबी गरेको छ ।
अहिले सरकारको नेतृत्व एमालेकै अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् ।
वार्षिक कार्ययोजनाबारे छलफल
बैठकमा एमालेले वार्षिक योजनाका विभिन्न विषयमा छलफल गरेको जानकारी पनि उपमहासचिव ज्ञवालीले दिए ।
‘कार्ययोजनाको विषयमा सुझुाव आएका छन् । अब यसलाई भदौ १८ र १९ गते बस्ने पोलिब्यूरो कमिटीको बैठकले कार्यान्वयनमा लानेछ,’ उनले भने, ‘सदस्यता विस्तार, अभिलेखीकरणलाई प्रभावकारी बनाउने, बाँकी जिल्ला र पालिकाको अधिवेशन छिटो गर्ने, तीन महिनाभित्र जिम्मेवारविहीनलाई जिम्मेवारी दिइने तथा कमिटीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नेजस्ता विषय कार्ययोजनामा समेटिएका छन् ।’
साथै वर्षको एकपटक हरेक पार्टी सदस्य पार्टीबाट दीक्षित हुने, प्रचार कार्यलाई प्रभावकारी बनाउने, जनपरिचालन तथा पार्टीमा प्रवेश गराउनेजस्ता कार्यक्रम रहेको जानकारी पनि ज्ञवालीले दिए ।
साथै बैठकले दिवंगत उपाध्यक्ष सुवास नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा आगामी भदौ २६ गते केन्द्रीय कार्यालयमा स्मृति दिवस मनाउने पनि निर्णय गरेको छ ।