२१ जेठ २०८३, बिहीबार

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु

भदौ १४, २०८१
विराटनगर
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु
फाइल तस्वीर

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फालेलुङ-५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । ज्यान गुमाउने दुवै एकै घरमा दाजुबिहिनी हुन् । 

दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । 

बिहीबार आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका छन् । उनको घरमा ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ ।

अझै दुई जना घाइते छन् । घाइतेमध्ये दुवै जनाको अवस्था गम्भीर रहेको उनले बताए ।  

विस्फोटक पदार्थ कस्तो खालको हो भन्ने खुलिनसकेको घटनास्थलमा रहेका प्रहरी इन्स्पेक्टर रूपेश तामाङले बताए ।

घरमा अन्य विस्फोटक पदार्थ पनि रहेको आशंकामा नेपाली सेनाको टोली बोलाएको उनले बताए । रातिदेखि नै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्