२८ जेठ २०८३, बिहीबार

वायु सेवा निगमले भन्यो- ए३३० जहाजको मर्मत कार्य हुँदैछ, छिटो फिर्ता ल्याउन समन्वय भइरहेको छ

भदौ १४, २०८१
काठमाडौं
वायु सेवा निगमले भन्यो- ए३३० जहाजको मर्मत कार्य हुँदैछ, छिटो फिर्ता ल्याउन समन्वय भइरहेको छ

नेपाल वायु सेवा निगमले ए३३० जहाज नाइनएन-एएलवाईको नियमित मर्मत कार्य भइरहेको जनाएको छ । जहाजको विस्तृत जाँच गर्दा केही प्राविधिक समस्याहरू फेला परेकाले मर्मत कार्य लम्बिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनाइएअनुसार जहाज निर्माता कम्पनी एयरबससँगको समन्वयमा यी समस्याहरू समाधान गर्न काम भइरहेको छ । जहाज मर्मत (सी–चेक) सम्बन्धमा विभिन्न संचार माध्यममा आएका समाचारप्रति भने निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारले जनमानसमा भ्रम सिर्जना भएको भन्दै निगमले नियमानुसार सम्झौता गरिएको कम्पनीमा मर्मत कार्य भइरहेको स्पष्ट पारेको छ । जहाजको विस्तृत जाँचगरी निर्माता कम्पनी एयरबससँग पत्राचार गरी मर्मत कार्य भइरहेको निगमको विज्ञप्तिमा उल्लेख छ । निगमले कर्मचारीको मनोबल गिर्ने समाचार सम्प्रेषण नगरी दिन पनि आग्रह गरेको छ ।

'निगम र कम्पनीबीच जहाजको मर्मत कार्य सम्पन्न गराई छिटो फिर्ता ल्याउन समन्वय भइरहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'सी-चेक भइरहेको जहाजको लागि आवश्यक पार्टपुर्जाहरू निगमको समन्वयमा इटालीको भन्सारबाट छुटाई मर्मत कम्पनी एमआरओले प्राप्त गरिरहेको छ । मर्मत कम्पनीले उक्त जहाजको सी-चेक कार्य २५ अगस्ट, २०२४ मा सम्पन्न गरिसक्ने जनाएको थियो । तत्पश्चात् जहाजमा थप मर्मत गर्नुपर्ने र पार्टपुर्जाको व्यवस्था गर्नुपर्ने देखिएकोले सी-चेक मर्मत कार्य सम्पन्न हुन केही थप समय लाग्ने छ ।'

सी-चेक कार्यको आवश्यक समन्वय गर्न निगमको प्राविधिक टोली पठाउनु पर्ने भएकाले सोही अनुसार पठाइएको निगमले जनाएको छ ।

उक्त टोलीले एमआरओ (मर्मत गर्ने कम्पनी)सँग राम्ररी समन्वय गरिरहे पनि भिसा स्टेअवधि सकिन लागेकोले फिर्ता बोलाई अर्को प्राविधिक टोली  पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्