३० असार २०८३, मंगलबार
विस्फोटक पदार्थ पड्किँदा दुई जनाको मृत्यु

विस्फोटमा परी एकैघरका दुई अबोध बालबालिकाको निधन, शोकमा डुब्यो डाँडागाउँ

खेलौना ठानेर चलाउँदा पड्किएको हुनसक्ने प्रहरीको अनुमान
भदौ १४, २०८१
विराटनगर
विस्फोटमा परी एकैघरका दुई अबोध बालबालिकाको निधन, शोकमा डुब्यो डाँडागाउँ

पाँचथरको फालेलुङ–५ स्थित डाँडागाउँ शोकमा डुबेको छ । विस्फोटक पदार्थ पड्किएर एकै परिवारका दुई बालबालिकाको ज्यान गएपछि पूरै गाउँ शोकमा डुबेको हो । 

११ वर्षका दिप्सन र दुई वर्षकी प्रियंशा साँवाको विस्फोटक पदार्थ पड्किएर ज्यान गएको हो । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा ज्यान भएको हो । उनीहरू एकै घरमा दाजुबहिनी हुन् । 

उनीहरू साथीकोमा खेल्न आएका बेला विस्फोटक पदार्थ पड्किएको थियो । उनीहरूको घर र घटनास्थल ५ मिनेटको दुरीमा पर्छ । 

विस्फोटक पदार्थ पड्किएर मृत्यु भएको हो । बुवा दिलीप वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् । ‘बुवा वैदेशिक रोजगारीमै छन् । आमा पूजा छोराछोरीको शव लिएर घर आउँदै छिन्,’ फालेलुङ–५का वडा अध्यक्ष भरतकुमार खपाङ्गीले भने, ‘योभन्दा ठूलो पीडा के हुन्छ र ? गाउनै शोकमा डुबेको छ । गाउँका कसैको आँखामा आँसु रोकिएका छैनन् ।’ दिलिप र पूजाका एक छोरा र एक छोरी मात्रै थिए ।

बच्चाहरूले खेल्ने क्रममा विस्फोटक पदार्थ चलाएपछि पड्किएको हुनसक्ने प्रहरीले जनाएको छ । बिहीबार ज्ञानुराज राई बस्ने घरको पिछाडिपट्टी बारीमा बालबालिकाले विस्फोटक पदार्थ भेटेको र खेल्ने क्रममा पड्किएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक रूपेश तामाङले बताए । ‘घटनास्थलमा हतौडा र छुरा पनि भेटिएको छ,’ इन्स्पेक्टर तामाङले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले विस्फोटक पदार्थलाई चलाएपछि पड्किए क्षति भएको देखिएको छ ।’ 

उक्त विस्फोटक पदार्थ जनयुद्धकै बेलाको हुन सक्ने प्रहरीको अनुमान छ । विस्फोटक पदार्थ के हो भन्ने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ । 

बिहीबार घटना भएको स्थलकै नजिकै अर्काे विस्फोटक पदार्थ पनि फेला परेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त पदार्थ फेला पारेको हो । सो क्षेत्रमा अन्य पनि विस्फोटक पदार्थ हुनसक्ने अनुमान गर्दै नेपाली सेनाको डिस्पोजल टोलीले खोजिरहेको इन्स्पेक्टर तामाङले बताए । 

भेटिएको विस्फोटक पदार्थ टोलीले डिस्पोज गर्ने तयारी थालेको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । भेटिएको वस्तु ग्रिनेड वा बम हुन सक्ने प्रहरीको अनुमान छ ।

बिहीबार दिउँसो ३ बजे विस्फोटक पदार्थ पड्किँदा ४ जना बालबालिका घाइते भएका थिए । घाइते भएका दुई बालबालिका भने उपचारपछि घर फर्केका छन् ।

salt training

कमेन्ट गर्नुहोस्