
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि ‘उत्साहपूर्वक कार्ययोजना’ बनाएर अगाडि बढेको बताएका छन् ।
शुक्रवार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुटसहित हवाई कम्पनीहरूलाई आकर्षित गराउन खोजिएको जानकारी दिए ।
उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको दाबी गर्दै यही अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भिसा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए ।
उनले बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको पनि जानकारी दिए ।
मन्त्री पाण्डेले निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको ब्रिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले आफूहरूका तर्फबाट बौद्ध राष्ट्रहरूसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चीन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरूसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकारात्मक जवाफ आएको बताए । मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूति दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए ।
सो अवसरमा गौतमबुद्व विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए । उनका अनुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलाईसम्म ९२३ जनाले मात्रै उडान भरेका छन् ।
मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष र धावनमार्गको निरीक्षण गरेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको छ ।
यसअघि लुम्बिनी विकास कोषका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई विमानस्थलमा स्वागत गरिएको थियो । कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डे बुद्वजन्मस्थल लुम्बिनी आएका हुन् । शनिवार लुम्बिनीमा कोषको परिषद् बैठक बस्नेछ ।