
सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिडेटबाट उत्पादित राजहंश ब्रान्डको चिनीका बोरामा फरक–फरक एमआरपी उल्लेख भएको पाइएको छ ।
कुनै बोरामा ५ हजार ७५० तथा कुनैमा ६ हजार रुपैयाँ एमआरपी उल्लेख भएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
रानी सती इन्टरनेसनल प्रालिको काठमाडौंको नैकापस्थित गोदामबाट चिनी खरिद गर्न आएको गाडी चेकजाँच गर्दा सो गाडीमा यश सप्लायर्स, कुलेश्वरले जारी गरेको बिल भेटिएको विभागका प्रवक्ता राकेश पाण्डेले बताए ।
‘थप सोधपुछ गर्दा रानी सतीले यश सप्लायर्सलाई चिनी बेचेको र यश सप्लायर्सले गौतम स्वीटको नाममा बिल जारी गरेको देखियो,’ उनले भने ।
सो कार्य मूल्य वृद्धि गर्ने आशयले गरिएको हो कि भन्ने आशङ्का लागेकाले अनुसन्धान गर्न रानी सतीको नैकापस्थित गोदाममा रहेको १२ लाख केजी चिनीमा सिलबन्दी गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
