२५ असार २०८३, बिहीबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ? मुख्यमुख्य घटनाक्रम हेर्नुहोस्

भदौ १५, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ? मुख्यमुख्य घटनाक्रम हेर्नुहोस्

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
भ्रष्टाचारसम्बन्धी कसुरमा ५ वर्षे हदम्याद हटाउने सहमति भएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सरकारले ल्याएको ५ वर्षे हदम्याद हटाउने सहमति गरेको हो । 

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा हदम्याद हटाउने विषयमा सहमति जुटाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् । शुक्रवार बिहान ११ बजे पत्नी सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुगेका उनले त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताए । 

प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको शुक्रवार भक्तपुरबाट शुरूवात गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरब क्षेत्रलगायतको अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
००००
नेपालमा कुल वैदेशिक लगानीको ३५ प्रतिशत छिमेकी देश भारतको लगानी रहेको देखिएको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा बढी भारतीय लगानी रहेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८–८०’ प्रतिवेदनले देखाएको हो । 

सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् १ खर्ब ३ अर्ब ४५ करोड रहेको पाइएको छ । यो कुल ५८ वटा देशको प्रत्यक्ष लगानीको ३५ प्रतिशत हो ।
००००
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले चालु खर्च धान्न नै मुस्किल परेको बताएका छन् । ३० प्रतिशत राजस्व वृद्धि गरेमात्रै अर्थतन्त्र सन्तुलनमा आउने उनको भनाइ छ ।
युवा उद्यमी मञ्च रुपन्देहीले शुक्रवार रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण वृद्धि भएर २४ खर्ब पुगेकाले देशको अर्थतन्त्र धेरै ठूलो अप्ठ्यारोमा पुगेको बताए । 
००००
नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा यसअघि आफैँले जारी गरेको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्धय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले शुक्रवार सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको हो ।
 नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।
००००
काठमाडौंको टुँडीखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् ।

कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौँले ९–९ हजार धरौटी लिएर रिहा गएको हो ।
००००
यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई दिइने भएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।
००००
नेपाली बैंकहरूले २९ अर्बभन्दा बढी रकम विदेशी मुलुकमा जम्मा गरेर राखेका छन् । 

आर्थिक वर्ष २०८०–८१ भरि नेपालका बैंकहरूले २९ अर्ब २ करोड ६१ लाख रुपैयाँ विदेशी बैंकहरूमा जम्मा गरेका हुन् । 

वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले मात्रै विदेशी मुलुकमा निक्षेप जम्मा गरेर राख्ने गरेका छन् । 

त्यस बाहेकका फाइनान्स कम्पनीहरूलाई भने विदेशी मुलुकमा पैसा राख्न राष्ट्र बैंकले अनुमति दिएको छैन । 
००००
संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए ।

त्यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यसहित दुवै सदनका सांसदहरू ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा सहभागी थिए ।
००००
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ १ गते सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
००००
मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएसँगै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिएका हुन् । 
००००
रास्वपाका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन् ।  रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी  गराएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्